
नेपालअखबार, काठमाडौं । इरानले आफ्नाविरुद्ध हुने सैन्य कारबाहीमा सहयोग गर्ने खाडी मुलुकहरूमाथि आक्रमण गर्ने चेतावनी दिएको छ ।
इरानले अमेरिकालाई भूमि तथा सैन्य अड्डा प्रयोग गर्न दिने खाडी मुलुकहरूलाई प्रत्यक्ष निशाना बनाइने चेतावनी दिएको हो ।
अमेरिकाले हालै गरेको आक्रमणपछि सोमबार इरानको विदेश मन्त्रालयले उक्त चेतावनी जारी गरेको बीबीसीले जनाएको छ ।
इरानको सरकारी सञ्चारमाध्यममार्फत सार्वजनिक गरिएको विज्ञप्तिमा विदेश मन्त्रालयले युद्धविराम सम्झौतामा हस्ताक्षर भएको २५ दिनमात्र बित्दा पनि अमेरिकाले सम्झौताका अधिकांश प्रावधानको खुला उल्लंघन गरेको आरोप लगाएको छ ।
मन्त्रालयका अनुसार अमेरिकी आक्रमणमा इरानको यातायात सञ्जाल, माछा मार्ने डुंगा, मालवाहक जहाज, मौसम विभागका भवन तथा अन्य सरकारी संरचनाहरूलाई निशाना बनाइएको छ । इरानले यसलाई गम्भीर युद्ध अपराधको संज्ञा दिएको छ ।
विदेश मन्त्रालयले अन्तर्राष्ट्रिय कानुनअनुसार छिमेकी राष्ट्रहरूको दायित्व आक्रमणकारी देशलाई आफ्नो भूमि वा सैन्य अड्डा प्रयोग गर्न नदिनु रहेको पनि उल्लेख गरेको छ ।
इरानले आफूविरुद्ध हुने आक्रमणमा प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा संलग्न हुने वा सहयोग गर्ने जुनसुकै स्थानलाई आफ्नो सेनाले जवाफी कारबाहीमा निशाना बनाउने चेतावनी दिएको छ ।




