Monday, July 13

सुकुम्बासीलाई लालपुर्जा दिन्छौं– मन्त्री रावल

नेपालअखबार, काठमाडौं । भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावलले सरकारले सक्दो चाँडो सुकुम्बासीलाई लालपुर्जा वितरण गर्ने बताएकी छन्।

Advertisement

आइतबार खरिपाटीस्थित होल्डिङ सेन्टरमा पुगेर सुकुम्बासीहरूलाई मन्त्री रावलले सकेसम्म चाँडो लालपुर्जा वितरण गर्ने प्रतिबद्धता जनाएकी हुन्।

Advertisement
Advertisement

उनले लालपूर्जा दिँदा कसैले पनि प्रश्न उठाउन नसक्ने गरी दिइने बताएकी हुन्।

Advertisement

हचुवाको भरमा नभई पुस्तौं पुस्तौंसम्म कसैले औंला उठाउन नसक्ने गरी लालपुर्जा दिन नेपाल सरकारले काम गरिरहेकाले पनि समय लागेको उनले बताइन्।

‘प्रश्न नउठ्ने गरी काम गर्न समय लाग्छ,’ उनले भनिन्, ‘त्यही भएर यति ग्यारेन्टी गर्छु सुकुम्बासीको हकमा नेपाल सरकारले जति सक्दो चाँडै। अझ होल्डिङ सेन्टरमा कामहरू सुरू भइसकेको छ।’

उनले हप्ता, दिन वा यो मितिमा दिन्छु नभन्ने तर सुकुम्बासीले लालपूर्जा पाउने प्रतिबद्धता व्यक्त गरिन्।  ‘सुकुम्बासीको हकमा नेपाल सरकारले जति सक्दो चाँडो अझै होल्डिङ सेन्टरमा रहेकाको हकमा नेपाल सरकारले प्राथमिकता राखेर काम अगाडि बढाइराखेका छौं,’ उनले भनिन्, ‘अब यति दिन, यतिमा भन्दिनँ, किनभने जमिनमा पनि समस्या आउन सक्छ। सुकुम्बासीको पहिचान मात्रै होइन। जग्गा पनि पहिचान गर्नुपर्‍यो। त्यसैले जटिल र संवेदनशील विषय भएकाले जति सक्दो चाँडो, सुकुम्बासीको हकमा लालपुर्जा पाउनुहुन्छ।’

शनिबार कीर्तिपुरस्थित होल्डिङ सेन्टरमा बाढी पसेपछि सरकारको आलोचना भएको थियो।

उक्त आलोचना पछि गृहमन्त्री सुधन गुरूङ, मन्त्री रावल, स्वास्थ्य मन्त्री निशा मेहता, शिक्षा मन्त्री सस्मित पोखरेल, श्रममन्त्री रामजी यादव र महिलामन्त्री सिता वादी खरिपाटीस्थित होल्डिङ सेन्टर पुगेर सुकुम्बासी परिवारसँग कुराकानी गरेका हुन्।