
नेपालअखबार, बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले सामाजिक, धार्मिक तथा जातीय सद्भाव कायम राख्न प्रदेशवासीमा अपिल गरेका छन्।
कोशी प्रदेशको सुनसरीस्थित देवानगन्जलगायत क्षेत्रमा हालै भएका दुःखद घटनापछि उत्पन्न परिस्थितिप्रति चिन्ता व्यक्त गर्दै मुख्यमन्त्री आचार्यले सबै पक्षलाई संयमता अपनाउन आग्रह गरेका हुन्।
मुख्यमन्त्री आचार्यले शुक्रबार जारी गरेको अपिलमा शान्ति, अमनचयन र आपसी भाइचारा कायम राख्नु सबैको साझा दायित्व भएको उल्लेख गरिएको छ।
उनले घटनामा ज्यान गुमाएकाप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना व्यक्त गरेका छन्। साथै, घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन्।
घटनापछि उत्पन्न विषम परिस्थितिलाई सामान्य बनाउन तीनै तहका सरकार तथा सम्बन्धित निकायबाट प्रभावकारी प्रयास भइरहेको उल्लेख गर्दै मुख्यमन्त्री आचार्यले नागरिकलाई सुरक्षित र शान्तिपूर्ण वातावरणमा जीवनयापन गर्ने अवस्था सिर्जना गर्न सबै पक्ष जिम्मेवार बन्नुपर्ने बताएका छन्।
गौतम बुद्धको जन्मस्थल लुम्बिनी प्रदेश सदियौँदेखि विभिन्न जातजाति, भाषाभाषी तथा धर्मावलम्बी समुदायबिच सहअस्तित्व, सहिष्णुता र सद्भाव कायम रहेको भूमि भएको उल्लेख गर्दै उनले प्रदेशको यही पहिचानलाई थप बलियो बनाउन आग्रह गरेका छन्।
‘भ्रातृत्व, सहिष्णुता तथा सामाजिक र धार्मिक सद्भाव नै लुम्बिनी प्रदेश र समग्र नेपालको वास्तविक पहिचान र शक्ति हो,’ मुख्यमन्त्री आचार्यको अपिलमा भनिएको छ।
मुख्यमन्त्री आचार्यले परिस्थितिलाई थप बिग्रन नदिई ऐतिहासिक सद्भाव, एकता र आपसी भाइचारालाई मजबुत बनाउन राजनीतिक दल, नागरिक समाज, धार्मिक गुरु तथा सम्पूर्ण प्रदेशवासीको भूमिका महत्त्वपूर्ण हुने बताएका छन्।
लुम्बिनी प्रदेशले सदैव आपसी सद्भाव र मेलमिलापको सन्देश दिँदै आएको उल्लेख गर्दै उनले शान्तिको सन्देश बोकेको प्रदेशमा कायम धार्मिक, सामाजिक तथा जातीय सद्भाव, सहिष्णुता र भ्रातृत्वलाई अक्षुण्ण राख्दै अघि बढ्न सबैमा आग्रह गरेका छन्।





