Monday, August 3

वार्तामा प्रगति भएको भन्दै ट्रम्पले रोके इरानमाथि नयाँ आक्रमण

नेपालअखबार,काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरान र अन्य मध्यपूर्वी देशले वार्तामा प्रगति भएको भनेपछि इरान विरुद्ध नयाँ आक्रमण स्थगित गरेका छन्।

Advertisement

आफ्नो सामाजिक संजाल ट्रुथ सोसलमा पोस्ट गर्दै द्रुत गतिमा सम्झौता हुने सर्तमा इरान विरुद्ध आक्रमण स्थगित गरेको उनले जनाएका छन्।

Advertisement
Advertisement

‘भविष्यमा हुने विश्वको हित र एक सफल तथा समृद्ध इरानको अस्तित्वका लागि, छिट्टै सम्झौता गर्न सक्ने सर्तमा, मैले आक्रमण रद्द गर्न सहमति जनाएको छु,’ उनले पोस्ट गरेका छन्।

Advertisement

इरान र अन्य मध्यपूर्वी देशहरूले सम्झौताको मोटामोटी खाकामा सहमति जुटिसकेको हुनाले अमेरिकालाई आक्रमण रोक्न आग्रह गरेको ट्रम्पले दाबी गरेका छन्।

‘यसमा स्ट्रेट अफ हर्मुजको तत्काल, पूर्ण र खुला सञ्चालन, र इरानको आणविक खतराको अन्त्य समावेश हुनेछ,’ उनले थपे।

यसअघि इरानलाई वार्तामा अमेरिकी सर्तहरू मान्न बाध्य पार्नका लागि इरानी पूर्वाधारमाथि आक्रमण गर्न लागेको अमेरिकी अधिकारीहरूले संकेत गरेका थिए।

यस्तोमा साउदी अरबका शासक मोहम्मद बिन सलमानले ट्रम्पसँग शनिबार कुराकानी गरेर आक्रमणको योजनाप्रति चिन्ता व्यक्त गरेको अमेरिकी अनलाइन एक्सियसले लेखेको थियो।

कतार, संयुक्त अरब इमिरेट्स, टर्की र पाकिस्तानलगायत अन्य राष्ट्रहरूले पनि अमेरिका र इरानलाई तनाव कम गर्न दबाब दिइरहेका छन्। इरानको पूर्वाधार र ऊर्जा केन्द्रहरूमाथि आक्रमण गर्दा युद्ध थप चर्किने खतरा थियो।

यस्तो बेलाम ट्रम्पले हाललाई इरानमाथि थप आक्रमण नगर्ने घोषणा गरेका हुन्।