Monday, August 3

फेरि आन्दोलनको तयारीमा शिक्षक महासंघ

नेपालअखबार,काठमाडौँ । पटक-पटक आन्दोलन गरी सरकारसँग सहमति गरे पनि विद्यालय शिक्षा ऐन जारी हुन नसकेको भन्दै नेपाल शिक्षक महासंघ राष्ट्रिय समितिले फेरि आन्दोलन गर्ने तयारी गरेको छ।

Advertisement

विगतमा धेरै आन्दोलन गरे पनि शिक्षकहरूको हातमा परिणाम नआएको निष्कर्षमा पुगेको शिक्षक महासंघले छिट्टै आन्दोलन गर्ने गरी तयारी गरेको हो।

Advertisement
Advertisement

नेपाल शिक्षक महासंघ राष्ट्रिय समितिका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले अब आन्दोलन गरिने बताए। नेपाल शिक्षक महासंघ तेस्रो राष्ट्रिय परिषदको काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै उनले परिणाम आउने गरी आन्दोलन गर्नुपर्नेमा जोड दिएका हुन्।

Advertisement

आफू भदौ १८ देखि निवृत्त हुन लागेको सुनाएका उनले त्यसअघि नै आन्दोलन गर्ने संकेत गरेका छन्।

‘आन्दोलन अब एक मात्र विकल्प भएको छ। साथीहरू आन्दोलनले के परिणाम दियो भन्नुहुन्छ- हाम्रो हातमा आन्दोलन मात्र छ, परिणाम हाम्रो हातमा छैन, परिणाम राज्य र त्यससँग सम्बन्धित निकायका हातमा छ। हाम्रो मात्र प्रयत्नबाट परिणाम आउँदैन,’ उनले भने।

उनले यसअघिको आन्दोलन अहिलेसम्मकै ठूलो र सडक प्रदर्शन पनि धेरै दिनसम्म चलेको उल्लेख गर्दै सरकारसँग त्यसबेला गरिएका सहमति राजनीतिक परिस्थितिका कारण कार्यान्वयन हुन नसकेको बताए।

‘विगतको आन्दोलन अहिलेसम्मको ठूलो, सडक प्रदर्शन हिसाबले अहिलेसम्मकै लामो आन्दोलन थियो। त्यो आन्दोलनले परिणाम ल्याउने क्रममा थियो। समितिबाट विधेयक प्रतिनिधि सभा पुगेको थियो तर जेनजी आन्दोलन भएपछि प्रतिनिधि सभा विघटन भयो त्यो विघटन रोक्ने हाम्रो बुतामा थिएन, दलहरूको पनि बुतामा थिएन,’ उनले भने, ‘यसमा हामीले केही गर्न सक्ने अवस्था छैन, अब हामी आन्दोलन गर्छौं। यो आन्दोलन सबै माग र मुद्दा सम्बोधन गरेको अग्रगामी विद्यालय शिक्षा ल्याउने हुनेछ।’

उनले सरकारको पनि आलोचना गरेका छन्। सरकारले सुरू सुरूमा ठूला-ठूला कुरा गरे पनि विद्यालय कर्मचारी, इसिडी शिक्षक र शिक्षण सिकाइ अनुदानका शिक्षकको तलब वृद्धि नगरेको बताए।

नयाँ शिक्षक नियमावलीले शिक्षक सरूवामा झन् कडाइ गरेको उनको भनाइ छ।

‘सरूवा झन् जटिल बनाएको छ, बढुवा गर्नेजस्तो प्राप्ताङ्क राख्नु शिक्षकहरूमाथि अन्याय हो,’ उनले भने, ‘अस्थायी शिक्षकको पीडा छ, उमेरका कारण निवृत्त हुनेहरू रित्तो हात घर फर्कनुपर्ने अवस्था छ। प्रधानाध्यापकलाई कमजोर बनाइएको छ, बिहान-बेलुकी पालिका अध्यक्षलाई नमस्कार गर्नुपर्ने अवस्था छ।’

उनले ट्रेड युनियन विरोधीबाट आक्रमण भइरहेको पनि बताए। ‘पेशागत ट्रेड युनियन अधिकारका विरोधी लोकतन्त्र विरोधी हो, राज्य कसैको र सत्ता कसैको सधैं रहिरहँदैन, यो कुरा सबैले थाहा पाए हुन्छ,’ उनले भने।