
नेपालअखबार,काठमाडौं । गृहमन्त्री सुधन गुरूङले राष्ट्रिय सभामा दिएको अभिव्यक्तिलाई लिएर माफी मागेका छन्।
बिहीबार राष्ट्रिय सभा बैठकमै उनले माफी मागेका हुन्।
‘मेरो तर्फबाट अलिकति ठाडो तरिकाले भयो जस्तो लाग्यो। मेरो तर्फबाट क्षमाप्रार्थी पनि छु। हजुरहरूसँग माफी पनि माग्न चाहन्छु,’ उनले भने।
तर उनले सांसदहरूलाई विषयमा केन्द्रित हुन पनि आग्रह गरे। मनुसुनजन्य विपद व्यवस्थापनबारे छलफल र प्रश्नोत्तर गर्ने कार्यक्रममा आफूलाई निर्मला पन्तको बलात्कार पछिको हत्या प्रकरणबारे सोधिएको बताए।
‘विषयबाट बाहिर गएर निर्मला पन्तको विषय उठाइयो। मनसुनजन्य विपद व्यवस्थापनक विषय निर्मलाको विषय कसरी सम्बन्धित छ? किन यसरी घुमाइन्छ? विषयमा केन्द्रित होऔं। तपाईंहरूबाट धेरै सिक्न बाँकी छ, सिक्दै जाँदैछौं। हामीभन्दा धेरै जेठोपाको पनि हुनुहुन्छ,’ उनले भने।
नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का सांसद विष्णुबहादुर विश्वकर्माले निर्मला पन्तको हत्या प्रकरण र त्यसको अनुसन्धानबारे प्रश्न गरेपछि गृहमन्त्री रिसाएर प्रस्तुत भएका थिए।
जबाफमा गृहमन्त्री गुरूङले यो विषय संवेदनशील रहेको बताए।
‘यो विषय संवेदनशील छ। यो प्रश्न हजुरलाई पनि गर्न चाहन्छु, हजुरहरू सत्तामा हुँदा किन नगर्नुभएको? अहिले हामीलाई त्यो भारी बोकाउँदै गर्दा यो संवेदनशील विषय हो। यो विषय उठाइराखेर आमाको घाउ र उहाँहरूलाई पीडा दिने कि अनुसन्धान गरी न्याय दिने? घटना सम्झाइरहँदा उहाँहरूको मनमा शान्ति हुन्छ त? यो अनुसन्धानको विषय हो र सुक्ष्म अनुसन्धान भइरहेको छ,’ गृहमन्त्री गुरूङले भने, ‘अबदेखि यो प्रश्न प्रतिनिधि सभा र राष्ट्रिय सभामा नउठाउन म आग्रह गर्छु। बरू व्यक्तिगत रूपमा भेटेर मलाई यस विषयमा सोध्नुहोला, मसँग उत्तर छ। एउटी आमाको पीडामाथि मल्हम लगाउनुभन्दा घटना कोट्याइराख्ने? म यो विषयमा माफ माग्न चाहन्छु, राम्रो उत्तर दिन सक्दिनँ होला।’
यसपछि फेरि सांसद विश्वकर्माले पूरक प्रश्न सोधे।
आफूले प्रश्न सोध्ने र मन्त्रीले जबाफ दिने परम्परा रहे पनि आफ्नो विधायकी अधिकार हनन् भएको उनले बताए।
साथै उनले फेरि सोही प्रश्न दोहोर्याए, ‘सरकार गठन भएको सवा ४ महिना भइसक्यो। छानबिन समिति यतिका बेलासम्म निष्कर्षमा नपुग्नु दु:खद छ। अबको कति महिना, कति दिनमा निर्मलाले न्याय पाउँछिन्?’
गृहमन्त्रीले त्यसपछि रिसाएर भनेका थिए – म यसको उत्तर दिन चाहन्नँ।
पछि अन्य सांसदहरूले पनि गृहमन्त्रीको अभिव्यक्ति र शैलीबारे बैठकबाट आलोचना गरेका थिए।
नेकपा सांसद मदनकुमारी शाहले गृहमन्त्रीको शैली र भाषाबारे दुःख प्रकट गरिन्।
‘सोध्ने, प्रश्न गर्ने सांसदको अधिकार हो। त्यसप्रति जबाफदेही हुने सरकारको कर्तव्य हो। तिम्रो सरकारले हिजोका दिनमा के गर्यो भनेर प्रश्न पनि आउन सक्छ। हिजोको आवश्यकताका आधारमा सरकारले काम गरेकै कारणले गर्दा सुविधाहरू, प्रविधिहरू प्रयोग गरिरहेका छौं। जति गर्नुपर्ने हो त्यति गर्न सकेको छैन भन्ने हामी पनि भनिरहेका छौं,’ उनले भनिन्।




