
नेपालअखबार,काठमाडौँ । प्रधानमन्त्री बालेन शाहले लामो समयदेखि बन्द तथा घाटामा रहेका सरकारी उद्योग तथा संस्थानहरूमा सुधारका संकेत देखिन थालेको दाबी गरेका छन्।
शनिबार सामाजिक सञ्जाल फेसबुकमा स्ट्याटस लेखेर प्रधानमन्त्री बालेन शाहले इमानदार प्रयास, कानुन कार्यान्वयन र टिमवर्कका कारण केही राष्ट्रिय उद्योगमा आशालाग्दा परिणाम देखिन थालेको दाबी गरेका हुन्।
उनले वर्षौंदेखि बन्द रहेका र घाटामा थलिएका राष्ट्रिय उद्योग फेरि आफ्नै खुट्टामा उभिन सक्लान् कि नसक्लान् भन्ने आशंका र चिन्ता स्वाभाविक रहेको उल्लेख गरेका छन्।
नयाँ सरकारले सुरुदेखि नै राष्ट्रिय उद्योग र संस्थानलाई पुनः जीवन्त र प्रतिस्पर्धी बनाउने विषयलाई प्राथमिकतामा राख्दै सहजीकरण, उत्प्रेरणा र समन्वय गर्दै आएको छ। यही प्रयासका कारण केही उद्योगमा सुधारका परिणाम देखिन थालेको उनको दाबी छ।
‘जब नियत सफा हुन्छ, जिम्मेवारीप्रति इमान्दारिता देखाइन्छ; तब जस्तोसुकै चुनौतीपूर्ण परिस्थितिमा पनि सुधारका नयाँ ढोका खुल्छन्,’ उनले भनेका छन्।
प्रधानमन्त्री बालेनले त्यसमा ५ वटा उदाहरण पनि प्रस्तुत गरेका छन्।
प्रधानमन्त्री बालेनले नेपाल औषधि लिमिटेडको पछिल्लो प्रगतिलाई पहिलो उदाहरणका रूपमा प्रस्तुत गरेका छन्।
उनले अनुसार वर्षौंदेखि घाटामा रहेको लिमिटेडले पछिल्लो ४ महिनामा २ करोड ३८ लाख रुपैयाँ बराबरको औषधि बिक्री गरेको छ।
विश्व स्वास्थ्य संगठनको ‘गुड म्यानुफ्याक्चरिङ प्राक्टिस’ (जिएमपी) मापदण्ड प्राप्त गरेपछि औषधि बिक्री बढेको र गत आर्थिक वर्षमा कम्पनीले ३ करोड रुपैयाँ नाफा आर्जन गरेको उनले बताएका छन्। चालु आर्थिक वर्षमा ३० करोड रुपैयाँको औषधि बिक्री गर्ने लक्ष्य राखिएको छ।
सरकारले तयार गरेको शासकीय सुधारसम्बन्धी एक सय कार्यसूचीमा लिमिटेडबाट आगामी तीन वर्षमा ९८ प्रकारका निःशुल्क औषधि उत्पादन गर्ने लक्ष्य राखिएको पनि उनले बताएका छन्।
सोही लक्ष्यअनुसार यस वर्ष ३७ प्रकारका औषधि उत्पादन गर्ने लक्ष्य रहेकामा २५ प्रकारका औषधि उत्पादनको तयारी अन्तिम चरणमा पुगेको र हाल लिमिटेडले ११ प्रकारका औषधि उत्पादन गरिरहेको उनले उल्लेख गरेका छन्।
त्यस्तै, लामो समयदेखि बन्द रहेको हेटौँडा कपडा उद्योग पुनः सञ्चालनका लागि परीक्षण उत्पादनको जिम्मेवारी नेपाली सेनालाई दिइएको प्रधानमन्त्री शाहले बताएका छन्।
तान (लुम) मर्मतपछि परीक्षण उत्पादन सुरु भइसकेको र केही मात्रामा कपडा उत्पादनसमेत सुरु भएको उनको भनाइ छ। परीक्षणपछि उद्योग नेपाल सरकारले नै सञ्चालन गर्ने योजना रहेको उनले बताएका छन्।
नेपाल वायुसेवा निगमको आम्दानीमा पनि सुधार भएको प्रधानमन्त्रीको दाबी छ।
उनका अनुसार गत आर्थिक वर्षको चैतदेखि असारसम्म निगमले ६ अर्ब २७ करोड ६३ लाख रुपैयाँ आम्दानी गरेको छ, जुन अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा १ अर्ब १० करोड २१ लाख रुपैयाँ बढी हो।
सो अवधिमा नेपाल एयरलाइन्सको सीट उपयोगिता अर्थात् अकुपेन्सी ८६ प्रतिशत पुगेको र अघिल्लो वर्षको सोही अवधिको तुलनामा ६ प्रतिशतले वृद्धि भएको उनले बताएका छन्। कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषबाट जहाज खरिदका लागि लिइएको ऋणको १ अर्ब ६ करोड १९ लाख रुपैयाँ किस्ता पनि सोही अवधिमा भुक्तानी गरिएको उनले उल्लेख गरेका छन्।
दुग्ध विकास संस्थान (डिडिसी)मा किसानको रोकिएको बक्यौता भुक्तानीलाई प्राथमिकता दिइएको प्रधानमन्त्रीले बताएका छन्।
उनका अनुसार किसानलाई भुक्तानी गर्ने चक्र आठ महिनाबाट घटाएर दुईदेखि तीन महिनामा झारिएको छ। आठ महिनाको अवधिमा ७२ करोड रुपैयाँ रहेको भुक्तानी दायित्वको चक्र अहिले दुईदेखि तीन महिनामा ३५ करोड रुपैयाँमा झारिएको उनले बताएका छन्।
किसानलाई दूधमा प्रतिलिटर एक रुपैयाँ प्रोत्साहन रकम थप गरिएको र सुधारका प्रयास सुरु भएपछि डिडिसीको दैनिक बिक्री ३५ प्रतिशतले बढेको उनको दाबी छ।
दैनिक औसत ६० लाख रुपैयाँ रहेको राजस्व संकलन अहिले ९० लाख रुपैयाँ पुगेको उनले बताएका छन्।
कानुनविपरीत विगतदेखि सबै कर्मचारीलाई वितरण हुँदै आएको घ्यू र दूधको सुविधा कटौती गरेर वार्षिक करिब ३ करोड रुपैयाँ बचत गरिएको पनि प्रधानमन्त्रीले उल्लेख गरेका छन्।
डिडिसीले चाँडै खाडी मुलुकमा घ्यू तथा चीनमा बटर र छुर्पी निर्यात गर्ने तयारी गरिरहेको र नगरकोट केन्द्रबाट चिज उत्पादन पुनः सुरु गर्न लागिएको उनले बताएका छन्।
सिंहदरबार वैद्यखाना विकास समितिको उत्पादन र कारोबारमा पनि सुधार भएको प्रधानमन्त्रीको दाबी छ।
उनका अनुसार नयाँ सरकार गठन भएपछि वैद्यखानाले ११ करोड १६ लाख रुपैयाँ बराबरको आयुर्वेदिक औषधि उत्पादन गरी बजारीकरण गरेको छ।
गत आर्थिक वर्षमा औषधिको कारोबार करिब १३ करोड रुपैयाँ पुगेको र यो अघिल्लो आर्थिक वर्षको तुलनामा चार गुणा बढी भएको उनले बताएका छन्।
वैद्यखाना हाल निःशुल्क वितरण हुने ३५ प्रकारका औषधि उत्पादनमा आत्मनिर्भर बन्ने दिशामा अघि बढिरहेको र अहिले १०५ प्रकारका आयुर्वेदिक औषधि उत्पादन भइरहेको उनले उल्लेख गरेका छन्।
चालु आर्थिक वर्षमा १५० प्रकारका औषधि उत्पादन गर्ने लक्ष्य राखिएको छ।
त्यस्तै, चालु आर्थिक वर्षमै पाउडर र ट्याब्लेट औषधि उत्पादनमा जीएमपी मापदण्ड हासिल गर्ने तथा जडीबुटी र औषधिजन्य कच्चा पदार्थको प्रशोधन केन्द्र स्थापना गर्ने लक्ष्य राखिएको प्रधानमन्त्री शाहले बताएका छन्।
प्रधानमन्त्री बालेनले इमानदारिता र देशप्रतिको समर्पण कायम रहेमा रुग्ण अवस्थामा रहेका अन्य सरकारी उद्योगमा पनि नयाँ जीवन भर्न सकिने विश्वास व्यक्त गरेका छन्।
‘माटोमा उत्पादन बढाएर देशलाई आत्मनिर्भर बन्ने बाटोमा अघि बढाउने यो यात्रामा तपाईँहरू सबैको रचनात्मक साथ, भरथेग र विश्वासको अपेक्षा गर्दछौँ,’ उनले लेखेका छन्।




