
नेपालअखबार,खोटाङ । अविरल वर्षाका कारण खहरेमा आएको लेदोसहितको बाढीले दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१२ बाँझोगरामा १० परिवारको खेत पुरिएको छ ।
दिक्तेल–जालपा–फेदी–ऐसेलुखर्क सडकखण्डअन्तर्गत जापलाको खरबारीबाट बाँझोगरामा झरेको लेदोसहितको बाढीले १३७ मुरी धान फल्ने खेत बगरमा परिणत गरेको गरेको छ ।
अविरल वर्षापछि यही साउन २, ३, ४ र १८ गते साउने खोल्सीमा झरेको लेदोसहितको बाढीले खेतबारी पुरेको किसानले बताएका छन् । रोपाइँ सकेर गोड्ने बेलाको खेतमा लेदोसहितको बाढी झरेर गेगर र बालुवा थुपारेपछि किसान चिन्तित भएका छन् ।
जालपास्थित खहरे खोल्सीमा आएको बाढीले रावाखोला वीरबहादुर श्रेष्ठको ३० मुरी, रत्नकुमार श्रेष्ठको १३ मुरी, गोपाल राईको आठ मुरी, सुब्बा राईको १२ मुरी, डाकमान राईको ११ मुरी र भाइकाजी राईको १० मुरी धान फल्ने खेत बगरमा परिणत भएको जालपाका वडाध्यक्ष दानबहादुर राईले जानकारी दिएका छन् ।
यस्तै, ऐँसेलुखर्क गाउँपालिका–७ माक्पाका गोपालकुमार राईको ३० मुरी, पदमबहादुर कार्कीको पाँच मुरी, सुरमनी राईको आठ मुरी र सोही गाउँपालिका–३ ऐँसेलुखर्कका मानबहादुर राजभण्डारीको १० मुरी धान फल्ने खेत साउने खोल्सीको लेदोसहितको बाढीले पुरिएको छ ।
धान उत्पादनका लागि उर्वरभूमि मानिने रावाखोला किनार बाँझोगरा खेतमा स्थानीय किसानले गत जेठमा धान रोपाइँ गरेका थिए । रोपाइँ सकेर गोडमेल गर्ने बेला बाढीले धानबाली तथा खेतबारी पुरेपछि किसान मर्कामा परेका छन् ।
विगतमा साउने खोल्सीमा त्यस प्रकारको बाढी कहिल्यै नझरेको स्थानीय रत्नकुमार श्रेष्ठले जानकारी दिएका छन् । “बर्सातमा सडकबाट झरेको पहिरो साउने खोल्सीमा मिसिएपछि लेदोसहितको बाढी झरेर खेतलाई खण्डहर बनाएको छ”, उनले भने, “खाइनखाइ अर्मपर्म गरेर रोपेको धानखेत बाढीले पुरिएर बगरमा परिणत भयो । गोड्नेबेलाको बाली बगरमा परिणत भएपछि मन अमिलो भएको छ ।”
खोल्सीको बाढीले दिक्तेल–एँेसेलुखर्क गाडी सञ्चालन भइरहेको सडकमा क्षति पुर्याएको छ । यस्तै, रावाखोला–तापखोला मुहानबाट बाँझोगरा खेतमै लगिएको सिम्ले कुलो र साउने खोल्साबाट पिखुमको ठूलो खेत लगिएको कुलो पनि बगाएको छ ।
बाढीले क्षतिग्रस्त सडक तथा कुलो मर्मतका लागि एँेसेलुखर्क गाउँपालिकाका पूर्वप्रमुख विश्वनाथ निरौलाले साउन ४ गते जिल्ला प्रशासन कार्यालय खोटाङमा निवेदन दिएका थिए । किसानको माग लिएर प्रशासनमा बुझाइएको निवेदन अहिलेसम्म सम्बोधन नभएको निरौलाले बताएका छन् ।
दश स्थानीय तह रहेको जिल्लामा यस वर्ष अविरल वर्षाले विभिन्न स्थानीय तहका किसानको धान खेत तथा बारीमा क्षति गरेको छ । निरन्तरको वर्षाका कारण अहिले जिल्लाका अधिकांश ग्रामीण सडक अवरुद्ध छन् ।
गत जेठबाटै वर्षा सुरु भएको जिल्लामा मध्यपहाडी लोकमार्ग अन्तरगत दिक्तेल–चखेवाभञ्ज्याङ सडकखण्डसमेत बाढी तथा पहिरोले पटक–पटक अवरुद्ध हुँदै आएको छ ।




