Monday, August 10

रविले मलाई गुन तिर्नु छ : संयोजक प्रचण्ड

नेपालअखबार,काठमाडौँ। नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफूलाई गुन तिर्न बाँकी रहेको बताएका छन्।

Advertisement

सिंहदरबारमा आज पत्रकारहरुसँगको भेटमा प्रचण्डले आफ्नो प्रधानमन्त्री बाहेकका रास्वपाका नेताहरूसँग नियमित संवाद हुने गरेको बताए।

Advertisement
Advertisement

‘रवि लामिछाने, डीपी अर्याल र विराजभक्त सबै मेरो क्याबिनेटमै बसेकोले उहाँहरूलाई बुझ्न मलाई गाह्रो छैन’, प्रचण्डले भने, ‘उहाँहरूलाई भन्न पनि गाह्रो छैन, मेरो रेगुलर नै संवाद भइराखेको छ। कैयौँ सल्लाह मिली पनि राखेको छ। प्रधानमन्त्री चाहिँ त अब अर्कै खालको छन्।’

Advertisement

प्रचण्डले रास्वपा सभापति लामिछानेमा राजनीतिक परिपक्वता बढ्दै गएको बताए।

‘तुलनात्मक रूपमा राजनीतिक परिपक्वता रविमै रहेछ भन्ने त सबैले महसुस गरेकै कुरा छ’, प्रचण्डले हाँस्दै भने, ‘फेरि मेरो त गुन तिर्न पर्ने पनि छ।’

विगतमा संसदमा आफूले लामिछानेको बचाऊ गरेको बताए। ‘मैले धेरै डिफेन्स गर्या छु नि त, पहिलाको संसदमा, पब्लिकमा। जेलमा भेट्न पनि गएँ, बाहिर आएर बोलेँ,’ उनले भने।

प्रचण्डले बालेन शाह नेतृत्वको सरकारले बनाएको संविधान संशोधन कार्यदलले संविधान संशोधनभन्दा पुर्नलेखन गर्ने उद्देश्य राखेर काम गरेको दाबी गरेका थिए।

‘संविधान संशोधन गर्नेभन्दा पनि यसमा राजनीतिक सिद्धान्तहरू चेन्ज गर्ने नै नियत देखियो। परिमार्जन भन्दा पुर्नलेखन गर्न खोजेको देखियो,’ उनले भने।

संविधानको प्रस्तावनादेखि नै पुर्नलेखन गर्न खोजेको आभास पाएपछि विपक्षी दलहरूले उक्त कार्यादल छाडेको उनले बताए।

निर्वाचनलगत्तै राष्ट्रिय स्वतन्त्र पार्टीमा जनता सोहोरिएर जाने आशंका लागेको भए पनि अहिले त्यो रोकिएको प्रचण्डको दाबी छ। ‘जनता रोकिएका छन्। मधेसमा त पश्चाताप नै गरेका छन्,’ उनले भने।

प्रचण्डले रास्वपाभित्र रहेका कतिपय सांसदहरू विगतमा पुराना दलबाट प्रतिनिधित्व गरेका व्यक्ति भएकोमा खुसी व्यक्त गरे। ‘मैले त अलिअलि ठट्टा गरेर भन्ने गर्छु, रास्वपामा हामी माओवादीले पनि २३ जना पठाइया छ’, प्रचण्डले भने, ‘एमालेले २७ जना कि कति पठाएको छ, कांग्रेसले ३३ जना पठाएको छ।’

उनले संविधान निर्माणपछि सरकार बनाउने र गिराउनेमा धेरै ध्यान गएका कारण अहिलेको अवस्था आएको बताए।

‘संविधान बनेर सरकार जब बन्न थाल्यो, हाम्रो ध्यान सरकारमा मात्रै भयो’, प्रचण्डले भने,  ‘प्रधानमन्त्री बन्ने, मन्त्री बन्ने, सरकार बनाउने, सरकार गिराउने यतैपट्टि हामी घुमि राख्यौँ। हाम्रो मूल हाम्रो उद्देश्य जनतालाई सुशासन दिने, समृद्धि दिने, न्याय दिने थियो। देशमाथि कतैबाट हस्तक्षेप हुन सक्छ है, त्यसलाई रोक्नको लागि जनतालाई, युवाहरूलाई प्रशिक्षित गरिराख्नुपर्ने, जनतासँगको सम्बन्ध जीवन्त बनाइराख्नुपर्ने थियो, हाम्रो ध्यान त्यता गएन।’

उनले वर्तमान सरकार समुन्द्रमा कम्पास हराएको जहाज जस्तो भएको टिप्पणी गरे।

‘सरकार आफै अपरिपक्व छ। आफै वैचारिक-राजनीतिक दिशाविहीन छ। त्यो  समुद्रमा कम्पास हराएको जहाज जस्तो भएको हुनाले धेरै जाँदैन’, प्रचण्डले भने, ‘यही तरिकाले जान सक्दैन, फेरि त्यहाँभित्र अन्तरविरोध पनि देखिएकै छ।’