Saturday, August 15

महाकवि देवकोटाका विषयमा लेखिएको महाकाव्य ‘बुवाहजुर’ सार्वजनिक

नेपालअखबार,काठमाडौँ । महाकवि लक्ष्मीप्रसाद देवकोटाका विषयमा लेखिएको महाकाव्य ‘बुवाहजुर’ आज सार्वजनिक भएको छ ।

Advertisement

अन्तरराष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) नेपाल शाखाले आज यहाँ आयोजना गरेको कार्यक्रममा ‘बुवाहजुर’ महाकाव्य सार्वजनिक गरिएको हो ।

Advertisement
Advertisement

कवयित्री मन्जिला शर्मा उप्रेती अर्थात् मन्जिला अनिलद्वारा लिखित महाकाव्य सार्वजनिक समारोहलाई सम्बोधन गर्दै महाकवि देवकोटाका पुत्र प्रा पद्प्रसाद देवकोटाले महाकविका विषयमा लेखिएको यो १५ औँ महाकाव्य भएको जानकारी दिए ।

Advertisement

भागवत कुञ्जका अध्यक्ष अजितप्रसाद गौतमले महाकवि देवकोटाका विषयमा चलेका केही अफवाह अन्त्य गर्न महाकाव्य सफल भएको बताए । तथ्य विनाका ती हल्लालाई महाकाव्यले छन्दोबद्ध कविताका हरफमा प्रमाणसहित अन्त्य गर्न सफल भएको उनको भनाइ थियो ।

‘बुवाहजुर’ महाकाव्यका बारेमा समीक्षा गर्दै प्राडा देवी नेपाल र उपप्राध्यापक ज्ञाननिष्ठ ज्ञवालीले महाकवि देवकोटाका विषयमा परिवारकै एक सदस्यले लेखेको महाकाव्यबाट पाठकले नयाँ जानकारी पाउने बताए । विभिन्न छन्दमा लेखिएको महाकाव्य पठनीय रहेको उनीहरूको भनाइ थियो ।

कार्यक्रममा अनेसास नेपाल शाखाका अध्यक्ष राजेन्द्र केसी र आजीवन सदस्य डा घनश्याम खतिवडालगायतले नेपाली साहित्यमा महाकवि देवकोटाका योगदानबारे महाकाव्यमा चर्चा गरिएको जानकारी गराएका थिए ।