
नेपालअखबार, फुकुओका । जापानको फुकुओका सहरमा २५ वर्षीया नेपाली विद्यार्थी लक्ष्मी राजवंशीको मृत्यु भएको घटनामा तीन नेपाली नागरिक पक्राउ परेका छन् । जापानी प्रहरीले मंगलबार २८ वर्षीय सञ्जु तामाङ, २५ वर्षीया असुमिता तामाङ र २२ वर्षीय प्रविन लामालाई लक्ष्मीको हत्या गरेको आरोपमा पक्राउ गरेको हो ।
प्रहरीका अनुसार सञ्जु फुकुओकामा व्यावसायिक विद्यालयमा अध्ययनरत छिन् । असुमिता सागा प्रिफेक्चरको तोसुमामा बस्दै आएकी छिन् भने प्रविन पनि तोसुमामै बस्ने अन्तर्राष्ट्रिय विद्यार्थी हुन् ।
प्रहरीको अनुसन्धानअनुसार अगस्ट १८ राति ११ः३० बजेदेखि अगस्ट १९ बिहान १२ः१५ बजेको बीचमा फुकुओकास्थित घरमा लक्ष्मीमाथि आक्रमण भएको थियो । उनको टाउकोमा भाँडाले प्रहार गरिएको र त्यसपछि डोरीले घाँटी कसेर तेस्रो तलाको बाल्कोनीबाट नदीमा खसालिएको प्रहरीको आशंका छ । नदीमा डुबेर उनको मृत्यु भएको बताइएको छ ।
प्रहरीका अनुसार सञ्जु लक्ष्मीले डेटिङ गरिरहेकी व्यक्तिसँगै बस्दै आएका थिए । अगस्ट १९ बिहान करिब ५ः४५ बजे एक पैदलयात्रीले फुकुओकाको तेन्जिन क्षेत्रमा रहेको नाका नदीमा शव तैरिरहेको देखेका थिए ।
प्रहरीले नदीबाट शव बाहिर निकालेपछि लक्ष्मीलाई घटनास्थलमै मृत घोषणा गरिएको थियो । घटनाबारे जापानी प्रहरीले थप अनुसन्धान गरिरहेको छ । लक्ष्मी सन् २०२३ को मेमा विद्यार्थी भिसामा जापान पुगेकी थिइन् ।




