Friday, September 11

सोलुखुम्बुको हुङ्‍गा खोला पहिरोले थुनियो

नेपालअखबार, विराटनगर । सोलुखुम्बुको महाकुलुङ गाउँपालिका– २ र ४ मा पर्ने हुङ्‍गा (हुङ्कु) खोला पहिराेका कारण थुनिएको छ । शुक्रबार बिहान गएको पहिरोका कारण खोला थुनिएको हो ।

Advertisement

गौरीशंकर हाइड्रोपावरको हेड अफिसबाट करिब १०० मिटर तल, वडा नम्बर – २ तर्फ पर्ने क्षेत्रमा करिब ३५ मिटर अग्लो पहिरो खसेर खोला थुनिएको हो । जसका कारण खोलामा करिब १०० मिटर लामो र १५ मिटर गहिरो कृत्रिम ताल बनेको सोलुखुम्बुका प्रहरी प्रमुख डीएसपी नविनराजा बुढाथोकीले जानकारी दिए ।

Advertisement
Advertisement

उनका अनुसार बिहानबाट बनेको ड्याममाथिबाट विस्तारै पानी बग्न थालेको छ । तल्लो क्षेत्रमा बाढीको जोखिम रहेकाले सतर्कता अपनाइएको उनले बताए ।

Advertisement

प्रहरीले नदी किनारमा बसोबास गर्ने स्थानीयबासी तथा नजिकै रहेका दुई वटा हाइड्रोपावर आयोजनालाई सतर्क रहन आग्रह गरेको छ ।

घटनास्थल इलाका प्रहरी कार्यालय बुङबाट करिब १० किलोमिटर दक्षिण-पूर्वमा पर्छ ।

पहिरोले खोला थुनिएपछि बनेको यो कृत्रिम ड्याम जुनसुकै बेला फुट्न सक्ने जोखिम भने टरिसकेको छैन ।

ड्याम फुटेमा हुङ्‍गा खोलाको पानी तल्लो तटीय क्षेत्र हुँदै सोताङ गाउँपालिका, थुलुङ दुधकोशी गाउँपालिका हुँदै खोटाङ र ओखलढुङ्गा जिल्लाको दुधकोशी नदीसम्म प्रभाव पार्न सक्ने बताइएको छ ।

प्रहरी नायव उपरीक्षक बुढाथोकीका अनुसार पहिरोको माथिबाट पानी बग्न थालेका कारण ठूलो जोखिम भने नरहेको बताउँछन् ।