Thursday, September 24

संसद् बैठकमा रास्वपाका सांसदहरू समूहगत आधारमा सहभागी हुने

नेपालअखबार,काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रतिनिधिसभा बैठकमा आफ्ना सांसदहरूलाई समूहगत आधारमा सहभागी गराउने भएको छ ।

Advertisement

रास्वपाले असोज महिनामा बस्ने प्रतिनिधिसभा बैठकका लागि आफ्ना सांसदहरूलाई चार वटा समूहमा विभाजन गरी बैठकमा सहभागी गराउने भएको हो ।

Advertisement
Advertisement

बैठकलाई थप गुणात्मक, प्रभावकारी र फलदायी बनाउन सांसदहरूलाई समूहगत आधारमा अनिवार्य सहभागी गराउने व्यवस्था रास्वपाले गर्न लागेको हो ।

Advertisement

रास्वपा संसदीय दलका मुख्य सचेतक कविन्द्र बुर्लाकोटीका अनुसार अब संसद् बैठकमा सांसदहरूको उपस्थिति समूहगत आधारमा व्यवस्थित गरिने भएको छ।

पार्टीले संसद्को छलफलमा नियमित र पूर्ण सहभागिता सुनिश्चित गर्न असोज महिनामा सहभागी हुने सांसदहरूको तालिका सार्वजनिक गरेको छ।

सार्वजनिक तालिका अनुसार ८ असोजमा समूह ३, समूह ४ र समूह १, १२ असोजका लागि समूह १ र समूह २, १३ असोजका लागि समूह २ र समूह ३, १४ असोजका लागि समूह ३ र समूह ४, १५ असोजका लागि समूह ४ र समूह १ तथा १६ असोजका लागि समूह १ र समूह २ का सांसदहरू अनिवार्य उपस्थित हुनुपर्ने छ ।

रास्वपाले तोकिएको मितिमा सम्बन्धित समूहका सांसदहरूलाई बैठकको सुरुदेखि अन्त्यसम्म अनिवार्य रूपमा उपस्थित भई छलफलमा सक्रिय सहभागी हुन निर्देशन समेत दिएको छ।

समूहगत आधारमा बैठकमा सहभागी हुन भनिए पनि अन्य समूहको सांसदहरूलाई संसद् आउन अनिवार्य छैन भन्ने नबुझ्न समेत निर्देशनमा भनिएको छ ।

बैठक अवधिभर छलफल प्रभावित नहुने गरी खाजा वा अन्य निरन्तरताका लागि आलोपालोको समय मिलाउन समेत भनिएको छ ।

हेर्नुहोस् सूचनाः

विषय: प्रतिनिधि सभा/संसद् बैठकमा उपस्थिति व्यवस्थापन सम्बन्धमा ।

संसद बैठकमा माननीय सांसदज्यूहरूको नियमित र पूर्ण उपस्थिति सधैँ अपेक्षित रहन्छ। तथापि, व्यावहारिक परिस्थितिहरूलाई ध्यानमा राख्दै संसदको छलफललाई थप गुणात्मक, प्रभावकारी र फलदायी बनाउनका लागि शून्य समय/समूहका आधारमा देहायबमोजिमको न्यूनतम सङ्ख्या उपस्थिति तालिका निर्धारण गरिएको छ।

तोकिएको मितिमा सम्बन्धित समूहका माननीय सदस्यज्यूहरूलाई बैठकको सुरुदेखि अन्त्यसम्म अनिवार्य रूपमा उपस्थित भई छलफलमा सक्रिय सहभागी हुन निर्देशानुसार अनुरोध गरिन्छ।

समूहगत उपस्थिति तालिका:

* असोज ८ गते: समूह ३, समूह ४ र समूह १ (अनिवार्य)
* असोज १२ गते: समूह १ र समूह २ (अनिवार्य)
* असोज १३ गते: समूह २ र समूह ३ (अनिवार्य)
* असोज १४ गते: समूह ३ र समूह ४ (अनिवार्य)
* असोज १५ गते: समूह ४ र समूह १ (अनिवार्य)
* असोज १६ गते: समूह १ र समूह २ (अनिवार्य)

अतिरिक्त निर्देशनहरू:

१. यसको अर्थ, अन्य समूहको सांसदहरूलाई संसद आउन अनिवार्य छैन भन्ने किमार्थ नलागोस्। संसद विशेष अवस्थामा बाहेक सबैका लागि सधैँ बाध्यकारी हुनुपर्छ।
२. छलफल र खाजा समय: बैठक अवधिभर छलफल प्रभावित नहुने गरी खाजा वा अन्य निरन्तरताका लागि पालैपालो (आलोपालो) समय मिलाउनुहुन।
३. निर्णयार्थ प्रस्तुत गर्दा: कुनै पनि प्रस्ताव वा विधेयक निर्णयार्थ सदनमा पेश हुने समयमा अनिवार्य तोकिएका सबै माननीय सदस्यज्यूहरूको उपस्थिति रहनुपर्नेछ।
धन्यवाद ।

कविन्द्र बुर्लाकोटी
मुख्य सचेतक