
नेपालअखबार,काठमाडौं । संयुक्त राष्ट्रसंघको महासभामा इरानले अमेरिकी दबाबसामु आफू नझुक्ने बताएको छ।
महासभालाई बुधबार सम्बोधन गर्दै इरानी राष्ट्रपति मशुद पेजिस्कियानले अमेरिकासँगको युद्धमा इरानले आत्मसमर्पण नगर्ने बताएका हुन्।
यद्यपि युद्ध अन्त्य गर्ने वविषयमा कुटनीतिक माध्यमबाट समाधान खोज्न भने इरान हरदम तयार रहेको उनले बताएका छन्।
उनले महासभामै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्धबारे दिएको अभिव्यक्तिको आलोचना गर्दै त्यसलाई ‘दादागिरी’ भनेका छन्।
उनले सम्झौता नभए ट्रम्पले इरानलाई ध्वस्त पार्न सक्ने पनि बताएका छन्।
‘अमेरिकी राष्ट्रपतिको हिजोको भनाइ दादागिरीको मानसिकताको संकेत हो। इरानी जनता दबाबसामु झुक्ने छैनन्,’ पेजेश्कियानले भने। उनले अमेरिकाले इरानलाई विश्वकै प्रमुख आतंकवाद प्रायोजक भन्दै आएकोप्रति पनि आपत्ति जनाउँदै भने, ‘जो आफैं आतंकवादी हुन् र आतंकवादीलाई तालिम दिन्छन्, उनीहरू हामीलाई आतंकवादी भन्छन्।’
पेजेश्कियानले आफ्नो सम्बोधनका क्रममा पटक–पटक अमेरिकासँगको तनाव वार्तामार्फत समाधान गर्न इरान तयार रहेको बताए।
तर शक्तिको भाषा स्वीकार गर्न नसकिने उनको भनाइ थियो। पेजेश्कियान बोल्न सुरु गरेपछि अमेरिकी प्रतिनिधिमण्डलका सदस्यहरू भने सभाकक्षबाट बाहिरिएका थिए।
उनले सम्बोधनको सुरुमै युद्धका क्रममा अमेरिकाले सर्वसाधारणको हत्या गरेको आरोप लगाए र त्यससँग सम्बन्धित तस्बिरहरू पनि देखाएका थिए। तीमध्ये इरानको मिनाबस्थित प्राथमिक विद्यालयमा रहेका छात्राहरूको तस्बिरसमेत थियो।
फेब्रुअरी २८ मा अमेरिका र इजरायलले इरानमाथि सैन्य आक्रमण सुरु गरेको केही घण्टापछि मिनाबको प्राथमिक विद्यालयमा मिसाइल प्रहार भएको र त्यसमा १७५ भन्दा बढी बालबालिका तथा शिक्षक मारिएका थिए।
रोयटर्सका अनुसार अमेरिकी सेनाको प्रारम्भिक आन्तरिक अनुसन्धानले उक्त आक्रमणमा अमेरिकी सेना जिम्मेवार रहेको सम्भावना देखाएको थियो। तर पेन्टागनले अनुसन्धानको निष्कर्ष सार्वजनिक गरेको छैन।
परमाणु कार्यक्रमबारे पेजेश्कियानले इरानले परमाणु बम बनाउन नचाहेको तर शान्तिपूर्ण परमाणु कार्यक्रम सञ्चालन गर्ने आफ्नो अधिकार भने नछाड्ने बताए। ‘न परमाणु हतियार, न परमाणुसम्बन्धी ज्ञान त्याग्छौं,’ उनको भनाइ उद्धृत गर्दै रोयटर्सले लेखेको छ।
अमेरिका र इरानबीचको युद्ध सुरु भएको सात महिना पुग्दा सैन्य संघर्षसँगै आर्थिक दबाब पनि बढिरहेको छ।
अमेरिकी दबाबका कारण इरानमा मूल्यवृद्धि, व्यापारमा कमजोरी र घरपरिवारको आयमा परेको दबाबले फेरि देशव्यापी असन्तुष्टि बढ्न सक्ने चिन्ता रहेको रोयटर्सले जनाएको छ।
यसैबीच, विश्वको करिब पाँचौँ हिस्सा तेल तथा तरलीकृत प्राकृतिक ग्यास ओसारपसार हुने रणनीतिक जलमार्ग हर्मुज जलमार्ग अमेरिका–इरान तनावको प्रमुख केन्द्र बनेको छ।
इरानले यो जलमार्ग पुनः खोल्नका लागि आफ्ना सर्तहरू मध्यस्थमार्फत अमेरिकासमक्ष पठाएको इरानी स्रोतहरूले रोयटर्सलाई बताएका छन्।
पेजेश्कियानले हर्मुजमा विदेशी सैन्य उपस्थितिको पनि विरोध गरेका छन्।
‘सबैले हर्मुजको जलमार्गबाट लाभ लिने तर हामीलाई यही जलमार्ग हुँदै आवतजावत गर्नबाट रोक्ने अवस्था हुन सक्दैन,’ उनले भने, ‘शत्रुतापूर्ण सैन्य बेडाको स्थायी तैनाथी र युद्धको विस्तारले शान्ति ल्याउँदैन।’




