
नेपालअखबार, काठमाडौँ । बेलायतस्थित अमेरिकी सैन्य अड्डामा शंकास्पद गतिविधि गरेको आरोपमा ५ जना पक्राउ परेका छन्।
आरएएफ फेयरफोर्ड हवाई आधार नजिकैको ह्वेलफोर्ड क्षेत्रबाट पाँच जना पक्राउ परेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले लेखेका छन्।
अमेरिकी वायु सेनाको ५०१ औं कम्ब्याट सपोर्ट विंग र ४२० औं एयस बेस स्क्वाड्रनको मुख्यालय रहेको क्षेत्रमा आतंकवादी गतिविधि गरेको आरोपमा उनीहरूलाई पक्राउ गरिएको हो।
इरानविरुद्धको युद्धमा अमेरिकी बमवर्षकहरूले यही सैन्य अड्डा प्रयोग गरेका थिए।
लन्डनको मेट्रोपोलिटन प्रहरीले आइतबार बिहान करिब १२:४५ बजे तीनवटा शंकास्पद ट्रक हवाई आधारतर्फ जाँदै गरेको सूचना पाएपछि कारबाही गरिएको जनाएको छ।
पक्राउ परेका पाँचै जनालाई प्रारम्भमा विस्फोटक पदार्थसम्बन्धी कानुन उल्लंघन गरेको आशंकामा नियन्त्रणमा लिइएको थियो।
ती ट्रकहरू बेलायतको स्वामित्वमा रहेको तर अमेरिकी सेनाले सञ्चालन गर्दै आएको आरएएफ फेयरफोर्ड हवाई आधारनजिकैको ह्वेलफोर्ड क्षेत्रमा भेटिएका थिए।
प्रहरीले घटनामा इरानसँग कुनै सम्बन्ध छ कि छैन भन्ने विषयमा पनि अनुसन्धान गरिरहेको छ। तर अहिलेसम्म पक्राउ परेकाहरूको राष्ट्रियता र उनीहरूले के गर्न खोजेका थिए भन्नेबारे प्रहरीले खुलाएको छैन।
समाचार संस्था एसोसिएटेड प्रेसका अनुसार इरानले यसअघि आफ्नो भूमिमाथि आक्रमण गर्न प्रयोग भएको सैन्य अड्डालाई वैध लक्ष्य मान्न सकिने भनेको थियो।
मेट्रो प्रहरीको आतंकवादविरोधी इकाइकी वरिष्ठ राष्ट्रिय संयोजक भिकी इभान्सले अनुसन्धान प्रारम्भिक चरणमै रहेको बताएकी छन्।
‘हामी अनुसन्धानको प्रारम्भिक चरणमा छौं र पाँच जना हिरासतमा छन्,’ उनले एपीसँग भनेकी छन्।
तीनवटै ट्रक वरिपरि करिब ४०० मिटर क्षेत्रलाई प्रहरीले घेराबन्दी गरेको छ।
सेनाले ट्रकहरूको जाँच गरिरहेको छ।
सम्भावित विस्फोटको जोखिमलाई ध्यानमा राख्दै आसपासका करिब ८५ घरका बासिन्दालाई सुरक्षित स्थानमा सारिएको छ।
केहीलाई नजिकैको मनोरञ्जन केन्द्रमा राखिएको छ।
सार्वजनिक भएका दृश्यमा बम निष्क्रिय पार्ने रोबोट तीनवटा सेता ट्रक वरिपरि परिचालन गरिएको देखिएको छ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पक्राउमा संलग्न बेलायती र अमेरिकी सुरक्षाकर्मीको प्रशंसा गरेका छन्।
उनले पक्राउ परेकाहरू अमेरिकी सैन्य आधारमा “ठूलो क्षति” पुर्याउन खोजिरहेको बताएका छन्।
बेलायती प्रधानमन्त्री एन्डी बर्नह्यामले घटनाबारे मानिसहरू चिन्तित हुनु स्वाभाविक रहेको भन्दै प्रहरी र सुरक्षाकर्मीको प्रतिक्रियाका लागि धन्यवाद दिएका छन्। उनले अनुसन्धानबाट पूर्ण तथ्य बाहिर नआएसम्म अनुमान नगर्न आग्रह गरेका छन्।
बेलायती सुरक्षा अधिकारीहरूले यसअघि इरानसँग सम्बन्धित समूहहरूले बेलायतमा आगजनी र तोडफोडका प्रयास गरेको बताउँदै आएका थिए।
तर फेयरफोर्डनजिकको आइतबारको घटनामा इरानको प्रत्यक्ष संलग्नता रहेको पुष्टि भने भइसकेको छैन।
प्रहरीले अनुसन्धान जारी रहेको जनाएको छ।




