
नेपालअखबार, काठमाडौं, चन्द्रागिरि । राजनीति प्रायः सत्ता, शक्ति र राजनीतिक दाउपेचसँग जोडेर हेर्ने गरिन्छ। तर, स्थानीय तहबाट सामाजिक सेवामा सक्रिय हुँदै राजनीतिमा आएका केही पात्रको यात्रा भने संघर्ष, निष्ठा, पराजय र नयाँ राजनीतिक खोजसँग जोडिएको देखिन्छ। चन्द्रागिरि नगरपालिका–२ को ग्रामीण भूगोलबाट सामाजिक सेवामार्फत सार्वजनिक जीवनमा आएका एक युवाको राजनीतिक यात्रा पनि यस्तै उतारचढावपूर्ण छ।
२०७२ सालको विनाशकारी भूकम्पपछि चन्द्रागिरि–२ क्षेत्रमा खानेपानीको समस्या गम्भीर बनेपछि उनले स्थानीय युवासँगको सहकार्यमा खानेपानी व्यवस्थापनको पहल अघि बढाएका थिए। पहिरो र भूकम्पका कारण प्रभावित बस्तीमा खानेपानीको अभाव भएपछि योजना निर्माणदेखि कार्यान्वयनसम्म उनी सक्रिय रहे। विभिन्न चुनौतीका बीच योजना सम्पन्न भएपछि स्थानीय घर–घरमा खानेपानीको पहुँच विस्तार भएको उनको दाबी छ।
सामाजिक काममा सक्रिय रहेकै क्रममा २०७४ सालको स्थानीय तह निर्वाचनमा उनी वडा सदस्यका रूपमा चुनावी मैदानमा उत्रिए। आफन्त तथा स्थानीय अगुवाको आग्रह र विश्वासमा उम्मेदवारी दिएका उनी निर्वाचित भए।
वडा सदस्यको कार्यकालमा विकास निर्माण, सडक, कुलो, खानेपानी तथा विपद्का समयमा स्थानीयसँग प्रत्यक्ष रूपमा जोडिएर काम गरेको उनी बताउँछन्। त्यस अवधिमा चन्द्रागिरि–२ का विभिन्न विकास योजनाको पहल र पैरवीमा आफू सक्रिय रहेको उनको भनाइ छ।
पहिलो कार्यकालपछि भने उनले राजनीतिबाट टाढिएर विदेश जाने र व्यक्तिगत जीवनमा केन्द्रित हुने सोच बनाएका थिए। तर, स्थानीय अग्रज तथा शुभेच्छुकहरूको आग्रहपछि उनी पुनः राजनीतिमा फर्किए। २०७९ सालको स्थानीय तह निर्वाचनमा वडा अध्यक्ष पदका लागि उम्मेदवारी दिए पनि उनी पराजित भए।
निर्वाचनमा भएको पराजयलाई उनी केवल मतको हारका रूपमा मात्र लिँदैनन्। आफ्नै समूह र नजिकका व्यक्तिबाट अपेक्षित सहयोग नपाएको तथा आन्तरिक राजनीतिक समीकरणले आफूलाई असर गरेको उनको बुझाइ छ। यही घटनाले उनको राजनीतिक सोचमा समेत परिवर्तन ल्याएको उनी बताउँछन्।
त्यसपछि पुरानो राजनीतिक संरचना र कार्यशैलीप्रति असन्तुष्टि बढ्दै गएपछि उनले नयाँ राजनीतिक विकल्पको खोजी थाले। अन्ततः राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को अनलाइन सदस्यता लिएर उनले नयाँ राजनीतिक यात्राको सुरुवात गरे।
रास्वपामा आबद्ध भएपछि उनी चन्द्रागिरि क्षेत्रमा संगठन विस्तारमा सक्रिय बने। नगर सचिवको भूमिकामा रहेर स्थानीय तहमा संगठन निर्माण, टोल–बस्तीमा पुगेर नागरिकसँग संवाद तथा नयाँ राजनीतिक सोचबारे अभियान सञ्चालन गरेको बताइएको छ।
पछिल्लो समय नयाँ पुस्ताको राजनीतिक सक्रियता र बदलिँदो राजनीतिक वातावरणसँगै उनको सक्रियता पनि बढेको देखिन्छ। चन्द्रागिरिबाट सुरु भएको उनको राजनीतिक यात्रा अहिले काठमाडौं जिल्लासम्म विस्तार गर्ने प्रयासमा केन्द्रित रहेको उनी निकटहरू बताउँछन्।
पराजय र राजनीतिक उतारचढावलाई चुनौतीका रूपमा लिँदै उनी अब पुरानो राजनीतिक संस्कारको विकल्प खोज्ने अभियानमा आफूलाई अघि बढाउने बताउँछन्। सामाजिक सेवाबाट राजनीतिमा प्रवेश गरेका उनको आगामी राजनीतिक यात्रा भने चन्द्रागिरिको स्थानीय राजनीतिमा उनको संगठनात्मक क्षमता र जनसमर्थन विस्तार गर्न सक्ने क्षमताले निर्धारण गर्ने देखिन्छ।




