Tuesday, October 13

हुथीको क्षेप्यास्त्र रोक्न नसकेपछि साउदीको हवाई प्रतिरक्षा प्रणालीमा प्रश्न, थालियो अनुसन्धान

नेपालअखबार,काठमाडौं । साउदी अरबले राजधानी रियादस्थित किङ खालिद अन्तर्राष्ट्रिय विमानस्थलमा हुथी विद्रोहीले गरेको घातक आक्रमणको विषयमा अनुसन्धान थालेको छ । हुथीले प्रहार गरेको क्षेप्यास्त्रलाई हवाई प्रतिरक्षा प्रणालीले किन रोक्न सकेन भन्ने विषयमा अनुसन्धान केन्द्रित रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

Advertisement

इरानसमर्थित हुथी विद्रोहीले रियादस्थित किङ खालिद अन्तर्राष्ट्रिय विमानस्थलमा गरेको आक्रमणबाट कम्तीमा १३ जनाको मृत्यु भएको छ । ३०० भन्दा बढी घाइते छन् ।

Advertisement
Advertisement

प्रारम्भिक अनुसन्धानले हुथी विद्रोहीले पहिले धेरै ड्रोन प्रहार गरेर त्यसपछि क्रुज र ब्यालिस्टिक क्षेप्यास्त्र प्रहार गरेको देखिएको छ । यमनबाट प्रहार गरिएका ड्रोन र क्षेप्यास्त्रले एक हजार किलोमिटरभन्दा बढी दूरी पार गरेर रियाद विमानस्थललाई निशाना बनाएका थिए ।

Advertisement

अनुसन्धानले आक्रमणको पूर्वसूचना हवाई प्रतिरक्षा प्रणालीले किन दिन सकेन भन्ने विषयलाई समेत समेटेको एसोसिएटेड प्रेस (एपी) ले जनाएको छ ।

प्रारम्भिक अनुसन्धानबाट हुथी विद्रोहीहरुसँग उडानका क्रममा दिशा परिवर्तन गर्नसक्ने वारहेड जडित क्षेप्यास्त्र तथा उन्नत हतियार प्रणाली रहेको बताइएको छ । यस्ता हतियारले साउदी अरबले प्रयोग गर्ने प्याट्रियटलगायतका क्षेप्यास्त्र प्रतिरक्षा प्रणालीलाई चुनौती दिएको ठानिएको छ ।

इत्तेहाद र कतार एयरवेजका उडान स्थगित

साउदी अरबका विमानस्थलमा भएका आक्रमणपछि खाडी क्षेत्रको हवाई सेवा प्रभावित भएको छ । इत्तेहाद एयरवेज र कतार एयरवेजले साउदी अरबका विभिन्न सहरमा हुने उडान रद्द तथा स्थगित गरेका छन् ।

इत्तेहाद एयरवेजले अबुधाबीबाट साउदी अरबका रियाद, दमाम र जेद्दाह जाने तथा त्यहाँबाट फर्कने विभिन्न उडान रद्द गरेको जनाएको छ । कम्पनीको वेबसाइटअनुसार अबुधाबी–रियाद रुटका सबै उडान अक्टोबर १९ अर्थात् आगामी कात्तिक २ गतेसम्म रद्द गरिएका छन् ।

अबुधाबी–दमाम रुटमा पनि उडान प्रभावित भएका छन् । सोमबारका केही उडान रद्द गरिएका छन् भने मंगलबार र बुधबारका सबै उडान स्थगित गरिएको कम्पनीले जनाएको छ ।

कतार एयरवेजले पनि रियाद र दमाम जाने तथा त्यहाँबाट फर्कने उडान अस्थायी रूपमा स्थगित गरेको छ । अक्टोबर १२ मा अद्यावधिक गरिएको सूचनामा कम्पनीले साउदी अरबको अवस्थालाई सम्बन्धित निकायसँग समन्वय गरी निगरानी गरिरहेको जनाएको छ ।

प्रभावित यात्रुलाई आफ्नो उडानको अवस्था वेबसाइट वा मोबाइल एपबाट जाँच गर्न कम्पनीले आग्रह गरेको छ । उडानमा परिवर्तन भएका यात्रुलाई प्रत्यक्ष जानकारी गराइने पनि कम्पनीले जनाएको छ ।

रियादस्थित किङ खालिद अन्तर्राष्ट्रिय विमानस्थल र दमामस्थित किङ फहद अन्तर्राष्ट्रिय विमानस्थलमा पटक–पटक आक्रमण भएपछि हवाई सेवा प्रभावित भएको हो । आक्रमणपछि रियाद विमानस्थलको सुरक्षा अवस्था पुन: जाँच गर्न साउदी अरबले त्यहाँको सञ्चालन शनिबारसम्म स्थगित गरेको विवरणमा उल्लेख छ ।

विमानस्थलमा भएका आक्रमण श्रृंखलाले कमजोरी उजागर

गत सातादेखि साउदी अरबका विभिन्न विमानस्थलमा भएका आक्रमणको शृंखलाले देशको हवाई सुरक्षा प्रणालीमा रहेका कमजोरी उजागर गरेको छ । सात महिनाभन्दा लामो समयदेखि जारी अमेरिका–इजरायल र इरानबीचको युद्धसँग जोडिएको क्षेत्रीय द्वन्द्व थप फैलिने जोखिम पनि बढेको छ ।

यद्यपि साउदी नेतृत्वको गठबन्धनले सोमबार हुथी विद्रोहीले रियादतर्फ प्रहार गरेका दुईवटा ब्यालिस्टिक क्षेप्यास्त्र आकाशमै अवरोध गरी नष्ट गरेको जनाएको छ । सोमबार राति रियादमा कम्तीमा तीनवटा विस्फोटको आवाज सुनिएको थियो । त्यसपछि नागरिक सुरक्षा अधिकारीहरूले तत्कालका लागि खतरा टरेको बताएका थिए ।

तर, हुथी विद्रोहीले किङ खालिद अन्तर्राष्ट्रिय विमानस्थललाई निशाना बनाएका छन् । उनीहरूले मक्का र मदिनाका विमानस्थलबाहेक साउदी अरबका अन्य विमानस्थल असुरक्षित रहेको भन्दै अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीलाई चेतावनी समेत दिएका छन् ।

आक्रमणपछि रियाद विमानस्थल सोमबार पनि बन्द रहेको थियो । राजधानीको वित्तीय क्षेत्रमा कार्यरत कर्मचारीलाई घरबाटै काम गर्न भनिएको थियो । यद्यपि, विश्व पेट्रोलियम ऊर्जा सम्मेलन दोस्रो दिन पनि सञ्चालन भएको थियो ।

हुथीविरुद्ध अमेरिकी कारबाहीको सम्भावना, फेरि तेल आपूर्ति प्रभावित हुने चिन्ता

साउदी अरबले हुथी विद्रोहीविरुद्धको कारबाहीमा अमेरिकाको थप प्रत्यक्ष सहयोग चाहेको छ । अमेरिकाले यसअघि साउदी नेतृत्वको सैन्य अभियानलाई गुप्तचर सूचना, लक्ष्य पहिचान र सैन्य योजना निर्माणमा सहयोग गर्दै आए पनि हुथीविरुद्ध प्रत्यक्ष हवाई आक्रमण गरेको छैन ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रियाद विमानस्थलमा भएको घातक आक्रमणपछि हुथीविरुद्ध अमेरिकी सैन्य कारबाही गर्ने सम्भावनाबारे विचार गरिरहेको बताएका थिए ।

सोमबार साउदी युवराज मोहम्मद बिन सलमानसँग कुराकानी गरेको बताए पनि ट्रम्पले त्यसबारे विस्तृत जानकारी दिएनन् । हुथीले ‘अत्यन्त खराब व्यवहार’ गरिरहेको टिप्पणी गरेका उनले साउदी अरबको रक्षाका लागि अमेरिका अघि सर्छ कि सर्दैन भन्ने प्रश्नमा ‘तपाईंहरूले चाँडै थाहा पाउनुहुनेछ’ भनेका थिए ।

अमेरिका प्रत्यक्ष रूपमा युद्धमा संलग्न भए हुथी विद्रोहीले लालसागरको दक्षिणी प्रवेशद्वारमा रहेको बाब अल–मन्देब जलडमरूमध्यबाट हुने समुद्री यातायात अवरुद्ध गर्ने प्रयास गर्न सक्ने चिन्ता छ । त्यसो भए फारसको खाडीबाट बाहिरिने तेलको आपूर्तिमा थप अवरोध आउन सक्छ ।

यसअघि नै इरानले होर्मुज जलडमरूमध्य (स्ट्रेट अफ होर्मुज)बाट हुने आवागमन प्रभावित पारेपछि मध्यपूर्वको तेल आपूर्ति जटिल बनेको छ । अमेरिका–इरान युद्ध सुरु हुनुअघि विश्वमा खपत हुने कुल तेलको करिब पाँच भागको एक भाग यही स्ट्रेट अफ होर्मुजबाट ओसारपसार हुने गरेको थियो ।

गत महिना हुथी विद्रोहीले बाब अल–मन्देब आसपासका महत्त्वपूर्ण क्षेत्र कब्जा गरेको बताइएको छ । अन्तर्राष्ट्रिय मान्यताप्राप्त यमनी सरकारसमर्थक सेनालाई सहयोग गरिरहेको साउदी नेतृत्वको गठबन्धन ती क्षेत्र पुन: नियन्त्रणमा लिन प्रयासरत छ ।

अमेरिकामा मध्यावधि निर्वाचन हुन केही सातामात्र बाँकी रहेका बेला ट्रम्प प्रशासनका लागि यो द्वन्द्व थप चुनौतीपूर्ण बनेको छ । इरानसँगको युद्धका कारण बढेको मुद्रास्फीति र इन्धनको महँगीले अमेरिकी जनतामा असन्तुष्टि बढाइरहेको छ । यस्तो अवस्थामा मध्यपूर्वमा थप अमेरिकी सैन्य संलग्नताले मतदाताको असन्तुष्टि बढाउन सक्ने विश्लेषण गरिएको छ ।