Friday, October 16

पोखरा–२८ ओख्लेभीर बस दुर्घटनाका मृतकप्रति श्रद्धाञ्जली अर्पण

नेपालअखबार, पोखरा। पोखरा महानगरपालिका–२८, ओख्लेभीरमा भएको कालिका बोर्डिङ स्कुलको बस दुर्घटनामा ज्यान गुमाएका विद्यार्थी तथा स्थानीय नागरिकप्रति श्रद्धाञ्जली अर्पण गर्न पोखरा महानगरपालिका–२८ ले वडा कार्यालयमा श्रद्धाञ्जली कार्यक्रम आयोजना गरेको छ। २०८३ असोज २३ गते माझठानाबाट कालिकातर्फ जाँदै गरेको कालिका बोर्डिङ स्कुलको बस ओख्लेभीरमा सडकबाट करिब २०० मिटर तल खस्दा चार जना विद्यार्थी र एक जना स्थानीय नागरिक गरी पाँच जनाको दुःखद निधन भएको थियो भने १९ जना घाइते भएका थिए। उक्त हृदयविदारक दुर्घटनाले समग्र पोखरा तथा स्थानीय समुदायलाई शोकमा डुबाएको छ।

Advertisement

दुर्घटनामा ज्यान गुमाउने विद्यार्थीहरू ममता तिवारी, अशिम कँडेल, सुवेच्छा तिवारी, रेनुका नेपाली तथा ६५ वर्षीय स्थानीय बाबुराम तिवारीप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा समवेदना व्यक्त गरिएको थियो। साथै, घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरिएको थियो। कार्यक्रममा पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले घाइतेहरूको उपचारमा महानगरपालिकाले सम्पुर्ण  सगोग गर्ने बताए ।

Advertisement
Advertisement

कार्यकारी अधिकृत राजन पौडेलले आगामी दिनमा यस्ता घटना हुन नदिन सावधानी अपनाउनु पर्ने बताए । पोखरा महानगरपालिका–२८ का वडा अध्यक्ष श्रीकृष्ण लामिछानेले वडा कार्यालयको पहलमा उहाँहरूकाे नाममा स्मृति पार्क बनाइने बताउदै यसमा सम्पुर्णको साथ र सयोगको अपेक्षा राखेको बताए । कार्यक्रममा दिवंगतप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकाकुल परिवारजनप्रति समवेदना व्यक्त गरिएको थियो । वक्ताहरूले दुर्घटनाबाट भएको मानवीय क्षतिप्रति दुःख व्यक्त गर्दै यस्ता दुःखद घटना दोहोरिन नदिन आवश्यक सावधानी, सुरक्षा व्यवस्था तथा जिम्मेवारीप्रति गम्भीर हुनुपर्नेमा जोड दिएका थिए। दुर्घटनाको वास्तविक कारण पत्ता लगाउन

Advertisement

पोखरा महानगरपालिकाले वरिष्ठ शिक्षा अधिकृत बद्रीनाथ सुवेदीको संयोजकत्वमा छानबिन समिति गठन गरेको छ। दुर्घटनाको निष्पक्ष छानबिन गरी आवश्यक सुधारका कदम चाल्नुपर्ने आवश्यकता पनि औँल्याइएको थियो। कार्यक्रममा बोल्ने वक्ता र उपस्थिति हुनेहरू सबैका आँखामा आँसु भरिएको थियो। कार्यक्रमको सञ्चालन पोखरा महानगरपालिका–२८ का वडा सचिव महेश्वर अर्यालले गरेका थिए।