
नेपालअखबार, काठमाडौं । अमेरिकाले युक्रेनलाई रूसी क्षेप्यास्त्र आक्रमणबाट जोगिन सहयोग गर्ने महत्त्वपूर्ण गुप्तचर सूचना उपलब्ध गराउने काम पुनः सुरू गरेको युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले बताएका छन्।
आइतबार प्रकाशित अन्तर्वार्तामा जेलेन्स्कीले अमेरिकाबाट गुप्तचर सूचना आदानप्रदान गर्ने काम केही समय अवरूद्ध भए पनि पछि पुनः सुरू भएको बताएका हुन्।
‘यसका लागि हामी निकै आभारी छौं। अहिले यो काम भइरहेको छ,’ उनले अमेरिकी टेलिभिजन एनबीसीको कार्यक्रम ‘मिट द प्रेस’ मा भने।
युक्रेनले आफ्ना सहरहरूमा रूसले निरन्तर प्रहार गर्दै आएका तीव्र गतिका ब्यालिस्टिक क्षेप्यास्त्र पहिचान गर्न अमेरिकी गुप्तचर सूचनामा भर पर्दै आएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यसै साता वासिङ्टनले युक्रेनसँग गुप्तचर सूचना आदानप्रदान गरिरहेको बताएका थिए। तर, केही रूसी आक्रमण हुनुअघि चेतावनी नपाएको युक्रेनी अधिकारीहरूले बताएका थिए।
अमेरिकाले रूसबाट डिजेल आयात गर्ने सम्झौता गर्नु र यसै साता लागू हुने भनिएका रूसमाथिका प्रतिबन्धहरू स्थगित गर्नुले भने युक्रेनलाई नोक्सान पुर्याउने जेलेन्स्कीको भनाइ छ।
‘यदि अमेरिकाले आधिकारिक रूपमा रूसको पक्ष लियो र यी दुई देश एकै ठाउँमा उभिए भने हामीले युद्ध जित्न सक्ने छैनौं र टिकिरहन पनि सक्ने छैनौं,’ उनले भने।
पछिल्लो एक सातामा ट्रम्प र जेलेन्स्कीबीचको मतभेद थप चर्किएको रोयटर्सले जनाएको छ। यसले युक्रेनलाई अमेरिकाले दिँदै आएको महत्त्वपूर्ण सहयोग अझ कमजोर हुन सक्ने चिन्ता बढाएको छ।
जेलेन्स्कीले भने ट्रम्प युक्रेनको सहयोगीका रूपमा कायम रहने आशा व्यक्त गरेका छन्।
‘हामी उहाँमाथि विश्वास गर्न चाहन्छौं। उहाँले आफ्ना निर्णय परिवर्तन गर्नुहुनेछ भन्ने आशा छ,’ उनले भने, ‘किनभने मलाई लाग्छ, यी सबै गल्ती हुन्। यसले हामीलाई पनि फाइदा गर्दैन र अमेरिकालाई पनि गर्दैन।’
आइतबार दिउँसो ट्रम्पले आफ्नो सामाजिक सञ्जाल ट्रूथ सोसलमा लेख्दै रूसलाई वार्ताको टेबलबाट टाढा धकेल्ने कुनै पनि कदम चाल्न नचाहेको बताएका थिए।
अमेरिकी अर्थमन्त्री स्कट बेसेन्टले भने अमेरिकाले युक्रेनलाई रूसले नपाएको सहयोग उपलब्ध गराइरहेको बताएका छन्। एनबीसीसँग कुरा गर्दै उनले गुप्तचर सूचना आदानप्रदान र अन्य देशलाई उपलब्ध गराइएका अमेरिकी हतियार पुनः बिक्रीमार्फत युक्रेनलाई सहयोग भइरहेको उल्लेख गरे।
तर, युक्रेनलाई अमेरिकाले आफ्नो सहयोगी मान्छ कि मान्दैन भन्ने प्रश्नमा बेसेन्टले सीधा जवाफ दिएनन्।
‘जेलेन्स्कीले आज बिहान युक्रेनले युद्ध जित्नैपर्छ भन्ने गलत दुई विकल्प प्रस्तुत गरेका छन्,’ उनले भने, ‘युद्ध अन्त्य हुनुपर्छ र त्यो कुनै न कुनै प्रकारको वार्तामार्फत हुने सम्झौताबाट सम्भव हुनेछ।’




