
नेपालअखबार, काठमाडौं । इरानका रक्षामन्त्री मेहरदाद अखलाघीले आफ्नो देशमाथि कुनै पनि आक्रमण भए त्यसको ‘उचित, निर्णायक र प्रभावकारी जवाफ’ दिने चेतावनी दिएका छन् ।
‘इरानको रक्षात्मक जवाफको दायरा, समय र परिणाम कसरी निर्धारण गर्ने भन्ने कुरा धम्की दिने पक्षले तय गर्न सक्दैन,’ उनले भनेका छन् ।
इरानी अधिकारीहरूले अमेरिकासँग फेरि युद्ध भए अघिल्लो युद्धभन्दा लामो समयसम्म चल्न सक्ने चेतावनी दिँदै आएका छन् । उनीहरूले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्धको अवधि निर्धारण गर्न नसक्ने पनि बताएका छन् ।
गत फेब्रुअरी २८ मा अमेरिका र इजरायलले इरानमाथि गरेको आक्रमणपछि करिब ४० दिनसम्म भीषण सैन्य कारबाही भएको थियो । त्यसपछि अप्रिलमा युद्धको तीव्रता घटेको थियो । यद्यपि त्यसयता दुवै पक्षबीच छिटपुट रूपमा एकअर्काविरुद्ध आक्रमण हुँदै आएका छन् ।




