
नेपालअखबार, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको युद्ध लगभग समाप्त भइसकेको बताएका छन्।
सोमबार उनले हालका लागि अमेरिकाले यथास्थिति कायमै राख्ने तर परिस्थितिमा कुनै बदलाव आए अमेरिकी सेना तयार रहेको बताए।
ह्वाइट हाउसमा पत्रकारहरूसँग कुराकानीका क्रममा ट्रम्पले सैन्य दृष्टिले इरानको मामिला लगभग टुङ्गिसकेको र इरानको नेतृत्व समाप्त पारिएको दाबी गरे।
यद्यपि, अमेरिकाले इरानको परमाणु कार्यक्रम लामो समयका लागि पछि धकेलियोस् भन्ने कुरा अझै सुनिश्चित गर्न चाहेको उनले बताए।
कतारका प्रधानमन्त्री शेख मोहम्मद बिन अब्दुलरहमान बिन जासिम अल थानीसँगको भेटवार्तापछि ट्रम्पले यो बयान दिएका हुन्। उक्त भेटलगत्तै उनी अचानक ह्वाइट हाउसको ब्रिफिङ रुममा पुगेर पत्रकारहरूसँग कुरा गरेका थिए।
राष्ट्रपति ट्रम्पले इरानमाथि पुनः आक्रमण गर्ने धम्कीबाट पछि हट्ने सङ्केत पनि दिएका छन्। आइतबार सीएनएनलाई फोनमा दिएको अन्तर्वार्तामा उनले इरानसँगको वार्तामा प्रगति भएमा र उसले बलियो सम्झौतामा हस्ताक्षर गरेमा फेरि आक्रमण गर्नुपर्ने सम्भावना निकै कम रहने बताएका थिए।
अमेरिकी सेनाले गत साता दुईपटक गर्यो आक्रमण
यसैबीच, अमेरिकी सेनाले पछिल्लो एक हप्तामा इरानमाथि कम्तीमा दुईपटक सीमित आक्रमण गरेको छ, जसमा इरानको एयर डिफेन्स प्रणालीलाई निसाना बनाइएको थियो।
यसका साथै, शनिबार अमेरिकी सेनाले एक व्यापारिक जहाजमा गोली प्रहार गरी त्यसलाई निष्क्रिय बनाइदिएको छ। उक्त जहाजले इरानी बन्दरगाहहरूमा लगाइएको अमेरिकी नौसैनिक नाकाबन्दी तोड्ने प्रयास गरिरहेको अमेरिकाको दाबी छ।
युद्धको असर अमेरिकी चुनावमा पनि पर्यो
गत हप्ता सम्पन्न अमेरिकी मिडटर्म चुनावमा आफ्नो रिपब्लिकन पार्टीले संसद्का दुवै सदनमा बहुमत गुमाएको पृष्ठभूमिमा ट्रम्पले आठ महिनादेखि जारी इरान युद्धको प्रसंग निकालेका हुन्।
चुनावका क्रममा अमेरिकी मतदातामाझ युद्धप्रतिको असन्तुष्टि पनि प्रमुख मुद्दा बनेको थियो। यस युद्धका कारण इन्धनको मूल्य अकासिएको थियो, जसको असर अमेरिका र विश्व अर्थतन्त्रका लगभग हरेक क्षेत्रमा परेको छ।
इरानले भन्यो– अमेरिकाले युद्ध अन्त्य गरे २ दिनभित्र होर्मुज खोलिदिन्छौँ
इरानका विदेशमन्त्री अब्बास अराघचीले अमेरिकाले हरेक मोर्चामा युद्ध अन्त्य गरेमा इरानले दुई दिनभित्रै होर्मुज स्ट्रेट खोलिदिने बताएका छन्। सामाजिक सञ्जालमा लेख्दै उनले अमेरिकाले पहिले इरानका सर्तहरू मान्नुपर्ने र त्यसो नभए इरान जवाफी आक्रमणका लागि तयार रहेको चेतावनी दिएका छन्।
अराघचीले इरान हरेक प्रकारको परिस्थितिको सामना गर्न तयार रहेको बताए। इरानले आफ्ना हतियारहरू मजबुत बनाएको, सेनाका कमजोरीहरू हटाएको र नयाँ हतियारहरूको परीक्षण गरेको दाबी गर्दै उनले इरानी सेना पूर्ण रूपमा सतर्क रहेको उल्लेख गरे।
होर्मुज स्ट्रेट समुद्रको एक अत्यन्तै महत्त्वपूर्ण मार्ग हो, जहाँबाट विश्वका कैयौँ देशमा कच्चा तेल र ग्यास पुग्ने गर्छ। यो मार्गबाट जहाजहरूको आवतजावत रोकिएमा विश्वभर तेलको आपूर्ति घट्ने र मूल्य बढ्ने जोखिम हुन्छ।
अमेरिका र इजरायलले मिलेर गरेका थिए इरानमाथि आक्रमण
परमाणु हतियार बनाएको आरोप लगाउँदै अमेरिका र इजरायलले गत २८ फेब्रुअरीमा इरानमाथि आक्रमण सुरु गरेका थिए। त्यसपछि इरानले पनि जवाफी आक्रमण गर्यो र दुवै पक्षबीच युद्ध सुरु भयो।
अप्रिलको सुरुमा दुवै पक्षबीच युद्धविराम भए पनि त्यो लामो समय टिक्न सकेन। जुन महिनामा फेरि युद्धविराम र युद्ध अन्त्य गर्ने विषयमा सम्झौता भयो, तर अगस्टमा त्यो पनि भङ्ग भएसँगै तनाव पुनः चुलिएको थियो।
हाल युद्ध रोक्ने विषयमा वार्ता चलिरहेको छ, जसमा परमाणु कार्यक्रम, होर्मुज स्ट्रेट खोल्ने र युद्ध अन्त्य गर्ने जस्ता मुद्दाहरू समावेश छन्।




