
नेपालअखबार, काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संविधान र लोकतान्त्रिक प्रणालीको रक्षा गर्नु एमालेको पहिलो कार्यभार भएको बताएका छन् । काठमाडौँमा जारी एमालेको राष्ट्रिय भेलामा एमाले सामु रहेका तत्कालका दुई कार्यभार र गर्नुपर्ने १५ कामबारे चर्चा गर्दै अध्यक्ष ओलीले आफूहरूले धक्का खाएको र अपदस्त भएको भन्दै निर्वाचनको पराजयबाट नभएको बताएका छन् ।
नियमित र स्वाभाविक ढङ्गले निर्वाचन हुँदा जसले हार्दा र जित्दा पनि स्विकार्नुपर्ने भन्दै उनले गत फागुनको निर्वाचन स्वच्छ निर्वाचन नभएर आगजनी, तोडफोड र हिंसात्मक ‘कु’ बाट सत्ता परिवर्तन गरेर त्यसलाई आतंंकपूर्ण वातावरणमा निर्वाचनको मञ्चन गरेर परिणाम घोषणा गरिएको बताए ।
‘प्रश्न प्राविधिक प्रक्रियाको होइन, प्रश्न राजनीतिक विषयको हो’, उनले भने, ‘यहाँ मात्र होइन विकसित देशमा पनि यस्ता कुरा भएका छन् ।’
ओलीले भने, ‘यो स्वीकार्य घटना हुन सक्दैन । त्यसले पुर्याएको क्षति, संविधान मिचेर पुर्याएको क्षतिहरूलाई हामीले पुनर्स्थापित गर्नुपर्छ र पहिलेकै ठाउँमा पुग्ने र फेरि जाग्ने ।’ अध्यक्ष ओलीले अबको मुलुक पुनर्जागरणको नेतृत्व एमालेले गर्नुपर्ने भन्दै नीति र विचारले शासन गर्न सक्नुपर्नेमा अहिले त्यसो हुन छाडेकोप्रति असन्तुष्टि जनाए ।
अध्यक्ष ओलीले पहिला पहिला राजनीतिमा धर्मभिरुता घुसाएर राजनीति गर्ने गरिएको भन्दै अब राजनीतिमा धर्मभिरुताको आवश्यकता नभएको बताए ।
‘अब धर्मभिरुताको आवश्यकता छैन । धर्मभिरुता जनतामा घुसाउन आवश्यकता छैन, यति पर्याप्त मात्रामा घुसिसकेको छ’, ओलीले भने, ‘त्यसैले चर्चले राजनीतिमा हस्तक्षेप गर्नुहुँदैन भनेर युरोपमा चल्यो र त्यही कुरा संसारभरि फैलियो ।’




