
नेपालअखबार,पोखरा । राउटे समुदायले गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेसँग भेट गरेका छन् ।
सुर्खेतबाट आएको ३ सदस्यीय टोलीले मुख्यमन्त्रीलाई कार्यकक्षमै भेटेका हुन् । भेटका क्रममा उनीहरूले पाण्डेलाई ‘कोटी’ अर्थात् कचौरा उपहार दिएका छन्, यो कचौरा काठबाट उनीहरू आफैले बनाएका हुन् ।
राउटे मुखिया प्रकाशले मुख्यमन्त्री पाण्डेलाई आफ्नो समुदायबारे जानकारी गराएका थिए । राउटेको वर्तमान अवस्था, दैनिकी, जीवनशैली र भोग्नुपरेका समस्याबारे जानकारी गराएका थिए । राउटे समुदाय नेपालको मौलिक पहिचान, विशिष्ट संस्कृति र परम्परा भएको समुदाय हो ।
मुख्यमन्त्री पाण्डेले उनीहरुको संरक्षणमा सबै पक्ष लाग्नुपर्ने बताए । ‘उहाँहरूको मौलिक जीवनशैली, भाषा, संस्कृति र पहिचानको संरक्षण गर्दै शिक्षा, स्वास्थ्य, सुरक्षा तथा आधारभूत आवश्यकतामा सहज पहुँच सुनिश्चित गर्नु हामी सबैको साझा दायित्व हो,’ पाण्डेले भने । अन्तिममा मुख्यमन्त्री पाण्डेले राउटे प्रतिनिधिलाई बाटो खर्चका रुपमा ५० हजार सहयोग गरे । राउटे समुदाय यसरी नै ठाउँठाउँमा सहयोगका लागि पुग्छन् । स्वेच्छाले पाएको सहयोग लिन्छन् र गुजारा चलाउँछन् ।




