पर्यटकको रोजाइमा खोटाङको ‘मुन्दुम ट्रेल’
नेपालअखबार,खोटाङ । साकेला गाउँपालिका-३ खिदिमास्थित तावाभञ्ज्याङबाट सुरु भएको ‘मुन्दुम ट्रेल’ पदमार्ग जिल्लाको प्रमुख पर्यटकीय गन्तव्यस्थलका रुपमा पर्दछ ।
नेपाल सरकारको सयवटा पर्यटकीय गन्तव्य सूचीमा पर्ने ‘मुन्दुम ट्रेल’ पदमार्ग करिब एक सय सात किलोमिटर लामो दूरीको छ ।
प्राकृतिक रुपमै पर्यटकीयस्थल रहेको ‘मुन्दुम ट्रेल’ पदमार्गको स्तरोन्नतिमा तीनवटै तहका सरकारको करोडौं लगानीसमेत भइरहेको छ ।
प्रकृतिप्रेमी अर्थात् सौन्दर्यमा रमाउन चाहने तथा किराती संस्कार, संस्कृति अध्ययन एवम् अनुसन्धान गर्न आउने पर्यटकका लागि ‘मुन्दुम ट्रेल’ रोजाइमा पर्ने गरेको छ ।
शरद ऋतु सुरु भएसँगै अध्ययन तथा जागिरको सिलसिलामा राजधानी काठमाडौंलगायत सहरमा बस्दै आएका जिल्लावासी तथा बाह्य पर्यटकहरु मुन्दुम ट्रेल घुम्न र अध्ययन गर्न आउने गरेको केपिलासगढी गाउँपालिका-१ फेदीका भेडापालक लक्ष्मण राई ‘समीप’ले बताए ।
...










