बगरमा पसिना, राजमार्गमा बजार
नेपालअखबार, काठमाडौं । पूर्वपश्चिम महेन्द्रराजमार्ग भएर गुड्ने सवारीसाधन केहीबेरका लागि कृष्णपुर नगरपालिकाको वनहरा क्षेत्रमा रोकिन्छन्। सडक छेउमा खरले छाएर बनाएका साना टहरा छन्। ती टहराभित्र हरिया काँक्रा, तरबुजा, खरबुजा र लौका सजाइएका छन्। चर्को गर्मीमा शीतलता खोजिरहेका यात्री त्यहीँ रोकिन्छन्। फलफूल किन्छन् र फेरि यात्रामा अघि बढ्छन्।
तर सडक किनारको यो सानो व्यापार केवल यात्रीको तिर्खा मेटाउने माध्यम मात्रै होइन, मुक्तकमैया परिवारको जीविकासँगै संघर्ष र आत्मनिर्भरतासँग जोडिएको छ। कृष्णपुर नगरपालिका–२ का नीरज राना विगत चार वर्षदेखि वनहरा नदीको बगरमा फलाएका फलफूल र तरकारी बेचेर परिवारको गुजारा चलाइरहेका छन्।
राजमार्ग किनारमै व्यापार गर्दै आएका रानाका अधिकांश ग्राहक सवारी चालक र यात्री हुन्। बिहानदेखि साँझसम्म सडक छेउमा बसेर तरकारी तथा फलफूल बिक्री गर्दा हुने आम्दानीले परिवारको दैनिक ख...










