घाँस काट्न निस्केकी महिलाको हत्या
नेपालअखबार, महाेत्तरी। महोत्तरीको मटिहानी नगरपालिका–१ की ४० वर्षीया अमना खातुनको हत्या भएको खुलेको छ। उनको शव बाँसघारीमा फेला परेको थियो। फलामको पेचकसले घाँटी, छाती र पेटमा प्रहार गरी सलले घाँटी कसेर उनको हत्या गरेको प्रहरीले जनाएको छ।
खातुनको बलात्कार गरी हत्या गरिएको हुनसक्ने अनुमान प्रहरीको छ। यद्यपि पोस्टमर्टम रिपोर्ट आएपछि मात्र वास्तविकता खुल्ने महोत्तरीका प्रहरी प्रवक्ता डिएसपी चन्देश्वर यादवले बताए।
हत्या आरोपमा प्रहरीले स्थानीय २४ वर्षीय मोजाहिर अन्सारीलाई पक्राउ गरेको छ। घटनामा थप व्यक्तिको संलग्नता रहेको वा नरहेको सम्बन्धमा अनुसन्धान भइरहेको डिएसपी यादवको भनाइ छ।
गत असोज ७ गते बिहान ११ बजे घाँस काट्न भनी अमना घरबाट हसियाँ र प्लाष्टिकको बोरा लिई निस्केकी थिइन्। साँझसम्म उनी घर नफर्केपछि छिमेकी तथा आफन्तले उनको खोज तलास सुरू गर्यो। नभेटेपछि स्थानीय प्रहरीलाई खबर गरियो।
...










