Wednesday, July 8

बाग्लुङ बाढीः मृतकको सङ्ख्या १७ पुग्यो, २१ अझै बेपत्ता

नेपाल अखबार, बाग्लुङ ।बाग्लुङको ढोरपाटन नगरपालिकाको भुजीखोलामा आएको बाढीले तटीय क्षेत्रका घर बगाउँदा अहिलेसम्म मृत्यु हुनेको सङ्ख्या १७ पुगेको भने २१ जना बेपत्ता छन् ।  बुधबार राती साढे ११ बजेतिर आएको बाढीले खोलाको तटीय क्षेत्रका आधा दर्जन घर बगाएको थियो ।
बेपत्ता खोज्ने क्रममा आज अन्दाजी ३४ वर्षीय पुरुषको शव बडीगाड गाउँपालिका–७ स्थित बढीगाड खोलामा फेला परेको उद्धारमा खटिएका इलका प्रहरी कार्यालय बुर्तिवाङका प्रहरी निरीक्षक प्रकाशसिंह भण्डारीले जानकारी दिए ।
जिल्ला प्रहरी कार्यालय बागलुङका अनुसार मृतक १७ जनामध्ये १५ जनाको मात्रै सनाखत हुन सकेको छ । सनाखत भएका शवको अन्तिम संस्कारका लागि आफन्तको जिम्मा लगाइसकिएको छ ।
पहिचान हुन बाँकी दुई जनाको शव बुर्तिवाङ स्वास्थ्य केन्द्रमा राखिएको प्रहरी निरीक्षक भण्डारीले जानकारी दिए । अधिकांश शव बाढीले बगाएको गाउँभन्दा धेरै तल बडीगाड खोलामा फेला परेको उनको भनाइ छ ।  बेपत्ताको खोजीका लागि नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी परिचालन गरिएको छ । रासस

Advertisement

Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *