Tuesday, April 21

कुलमानले भने : मेरो पुनर्नियुक्तिको माग गर्दै सडकमा प्रदर्शन नगरिदिनु होला

नेपाल अखबार, काठमाडाैं। नेपाल विद्युत प्राधिकरणका निवर्तामान कार्यकारी निर्देशक कुलमान घिसिङले आफ्नो पुनर्नियुक्तिको माग गर्दै सडकमा प्रदर्शन नगरिदिन सर्बसाधरणलाई आग्रह गरेका छन्।
कुलमानको पुनर्नियुक्तिको माग गर्दै राजधानी लगायत देशभर प्रदर्शन हुन थालेपछि शनिबार एक विज्ञप्ति प्रकाशित गर्दै उनले कोरोना महामारीको संवेदनशील अवस्था रहेको भन्दै सडकमा भिडभाड गरी प्रदर्शन नगर्न आग्रह गरेका हुन्। उनले देशभर भइरहेका प्रदर्शनप्रति आफ्नो ध्यानाकर्षण समेत भएको बताएका छन्।
‘विश्वव्यापी रुपमा फैलिएको कोभिड—१९का कारण नेपाल पनि आक्रान्त भएको वेला मलाई प्राधिकरणको कार्यकारी निर्देशकमा निरन्तरता दिनु पर्ने माग राखी महामारीको संवेदनशील अवस्थामा सडकमा भिडभाड गरी प्रदर्शन नगरिदिनुहुन सबैलाई हार्दिक अनुरोध गर्दछु’, घिसिङद्वारा जारी विज्ञप्तिमा भनिएको छ।
घिसिङले सरकाले आफूलाई कार्यकारी निर्देशक नियुक्ति गर्दा दिएको जिम्मेवारी सफलतापूर्वक पूरा गरेको भन्दै कार्यकारी निर्देशक नियुक्ति गर्ने सक्पूर्ण अधिकार सरकारलाई भएको र आवश्यक समयमा उपयुक्त निर्णय हुने बताए।
‘नेपाल सरकारले मलाई कार्यकारी निर्देशक नियुक्त गर्दा दिएको जिम्मेवारी मैले सफलतापूर्वक सम्पन्न गरी चार वर्षे कार्यकाल पूरा गरेको छु। प्राधिकरणको कार्यकारी नेतृत्वको निरन्तरता वा परिवर्तन नियमित एवं स्वभाविक प्रक्रिया भएकाले यसलाई हामी सबैले आत्मसाथ गर्नैपर्छ’, विज्ञप्तिमा उनले भनेका छन्, ‘प्राधिकरणको कार्यकारी निर्देशक नियुक्त गर्ने सम्पूर्ण अधिकार नेपाल सरकारमा निहित भएकाले यस विषयमा उपयुक्त समयमा आवश्यक निर्णय हुने नै छ।’

Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *