नेपाल अखबार, सिन्धुपाल्चोक । सुनकोसी गाउँपालिका–७ मा धमाधम किसानका बाख्रा मर्न थालेका छन् । बाख्रा मरेर खोर नै रित्तिन थालेपछि पात्ले, कापिङ र आसपासका किसान चिन्तित बनेका छन् । पछिल्लो दुई साताका बीच ५० भन्दा बढी बाख्रा मरिसकेको र मर्ने क्रम नरोकिएको स्थानीयवासी सानु तिमल्सिनाले बताए । ‘कतिपयको त खोर नै रित्तिएको छ, धमाधम बाख्रा मरिरहेको छ,’ तिमल्सिनाले भने, ‘गाउँपालिकालाई यसबारे सुनाउँदा कुनै चासो नै दिएन ।’ पिपिआर रोगको सुई माग गर्दा गाउँपालिकाले पठाउन नसकेको उनले गुनासो गरे ।
गाउँपालिकाले सबै वडामा गरी नौ गाउँ प्रहरी राखे पनि किसानका बाख्रा धमाधम मरिरहँदा औषधोपचारमा दक्ष चिकित्सक खटाउन सकेको छैन । गाउँपालिकाको पशु सेवा शाखामा एक मात्र कर्मचारी छन् । पछिल्लो दुई सातामा कापिङमा स्थानीयवासी सीताराम तिमल्सिना, हरि तिमल्सिना, अर्जुन तिमल्सिना, अनिता तिमल्सिना र अन्यका गरी ४० बढी बाख्रा मरेको छ । ‘मेरो आफ्नै खोरका नौ वटा बाख्रा मरिसकेको छ,’ सानुले भने ।

