Thursday, March 12

निजीको विरोध गर्नुभन्दा सरकारी विद्यालय सुधारमा केन्द्रीत होऔँ : अर्थमन्त्री बराल

नेपालअखबार, पाेखरा । गण्डकी प्रदेश सरकारका अर्थ मन्त्री रामजी प्रसाद बराल जीवनले सरकारी नुन पानी खानेहरुले सरकारी बिद्यालयमा आफ्ना छोरा छोरी पढाएमा शिक्षामा सुधार हुने बताउनु भएको छ ।

पोखरा महानगरपालिका वडा नं १६ लामाचौर स्थित इन्द्रराज्यलक्ष्मी माविको ६९ औं बार्षिकोत्सव तथा अभिभावक दिवस एवं बृहत शैक्षिक प्रर्दशनीको बुधबार उद्घाटन गर्दै मन्त्री बरालले उक्त कुरा बताउनु भएको हो ।

Advertisement

उहाँले निजी विद्यालयहरुको बिरोध गर्नु भन्दा सरकारी विद्यालयमा सुधार गर्न तर्फ सबैको ध्यान केन्द्रित गर्नुपर्नेमा जोड दिनु भयो । सीपयुक्त शिक्षा आजको आवश्यकता भएको बताउदै मन्त्री बरालले श्रोतसाधनलाई ठिक ढंगले प्रयोग गरी उद्यमशिल तथा स्वरोजगार हुुपर्नेमा जोड दिनुभयो ।

माओबादी केन्द्रका केन्द्रीय सदस्य समेत रहनु भएका मन्त्री बरालले संघ सरकारले प्रदेशहरुलाई दिनुपर्ने अधिकार नदिएको कारण पछिल्लो समयमा संघीयता माथिनै प्रंश्न उठन थालेको बताउनु भयो । विद्यार्थीहरुले मेहनत गरी निर्माण गरेको शैक्षिक प्रर्दशनीको निकै चासोका साथ अवलोकन गर्दै मन्त्री बरालले विद्यालयमा हाल आवश्यक भएको प्रशासनिक भवन तथा सभाहल निर्माणमा थप सहयोग गर्ने प्रतिवद्धता जनाउनुभयो ।

नेपाल सरकारका पूर्व सचिव बाबुराम आचार्यले भुगोल सुहाउदो प्राविधिक, नैतिक, सीप, उद्यमशिलता हुने शिक्षा आवश्यक भएको बताउनु भयो ।

पोखरा १६ का वडा अध्यक्ष अमृत शर्मा तिमिल्सिनाले ५ वर्षको अन्तरालमा मन्त्री बरालको पहलमा पहिलो पटक प्रदेशबाट उक्त बिद्यालयमा बजेट विनियोजन भएकोमा खुशी व्यक्त गर्दै थप सहयोग गर्न आफुहरु समेत तयार भएको बताउनु भयो ।

पोखरा १९ का वडा अध्यक्ष पुष्पेन्द्र पाण्डेले मजदुर, अस्थायी बसोबास गर्नेका छोराछोरीहरु बढी अध्ययन गर्ने उक्त बिद्यालयमा शैक्षिक गुणस्तर कायम गर्न कठिन हुने गरेको बताउनु भयो ।

नव आर्दश सामुदायिक विकास समाजका अध्यक्ष रेश्मा शेरचन अधिकारीले उक्त बिद्यालयमा उल्लेखनिय रुपमा शैक्षिक सुधार भएको दाबी गर्नु भयो । बिद्यालय व्यबस्थापन समितिका अध्यक्ष कृष्ण प्रसाद अधिकारीको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा शिक्षक अभिभावक संघका अध्यक्ष दील बहादुर थापा, शिक्षक सीता पौडेल, बिद्यार्थी सृष्टिका खड्का लगायतले शिक्षाको बारेमा बोल्नुभएको बिद्यालयका प्राचार्य केशव प्रसाद अम्गाँईले बताउनु भयो । २०१० सालमा स्थापना भएको बिद्यालयमा हाल ९ सय ३१ जना बिद्यार्थी, ४८ जना कर्मचारी रहेको बिद्यालयले जनाएको छ ।