Saturday, July 18

पोखरामा भूमिहीनलाई निस्सा वितरण कार्य सुरु

नेपालअखबार, पाेखरा । पोखरा महानगरपालिका र राष्ट्रिय भूमि आयोग कास्कीले संयुक्त रूपमा मङ्गलवार २४२ सुकुम्वासी परिवारलाई जग्गा प्राप्तिको पहिलो चरणमा दिइने निस्सा वितरण गरिएको छ । पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले भूमिहीन दलित र सुकुम्बासीहरुलाई निस्सा वितरण गर्न पाउँदा चुनाव अघि आफूले गरेको घोषणाले सार्थकता पाएको भन्दै खुसी व्यक्त गरे ।

Advertisement

‘हामीले चुनावी सभाको प्रारम्भ यही वडाबाट गरेका थियौँ, त्यस बेला भनेका थियौँ कि, भूमिहीन दलित तथा सुकुम्बासीहरुलाई निस्सा पनि यहीबाट वितरण गरिनेछ,’ आचार्यले भने,  ‘आज त्यो पुरा भएको छ, यस प्रक्रियामा सहयोग गर्ने सबै सरोकारवालाहरूलाई म धन्यवाद दिन चाहन्छु ।’ यो नियमित काम भएका कारण निर्वाचन आचारसंहिताले पनि नरोक्ने उनले बताए ।

Advertisement
Advertisement

पोखरा महानगरपालिकामा प्राप्त १९ हजार ८ सय ५६ भूमिहीन दलित, भूमिहीन सुकुम्वासी र अव्यवस्थित बसोबासीहरुको निवेदनहरू उपर आवश्यक प्रक्रिया पुरा गरी राष्ट्रिय भूमि आयोगसँगको समन्वयमा व्यवस्थित गर्दै लैजाने क्रममा महानगरपालिका रहेको प्रमुख आचार्यले उल्लेख गरे । उनका अनुसार पोखरा महानगरपालिका भूमिहीन समस्याको दिगो समाधानको पक्षमा छ ।

Advertisement