Friday, April 24

मत सर्वेक्षण नगर्नू निर्वाचन आयोग

नेपालअखबार, काठमाडौं । निर्वाचन आयोगले राजनीतिक दल र उम्मेद्वारका बारेमा मत सर्वेक्षण नगर्न आग्रह गरेको छ । उम्मेद्वारको मनोनयन दर्ता भएपछि मतदान सम्पन्न नहुँदासम्म मत सर्वेक्षण गर्न र त्यसको नतिजा सार्वजनिक गर्न नपाइने भन्दै आयोगले त्यसो गरेमा कारवाही हुने चेतावनी दिएको हो ।

‘आचारसंहिता विपरीत कतिपय व्यक्तिहरूले सामाजिक सञ्जालको प्रयोग गरेर राजनीतिक दल र उम्मेदवारका सम्बन्धमा मत सर्वेक्षण गरेको तथा त्यसको नतिजा सार्वजनिक गरेको निर्वाचन आयोगको अनुगमनबाट पाइएको छ,’ आयोगको विज्ञप्तिमा भनिएको छ, ‘(आचारसंहिताका) व्यवस्थाहरु विपरीत कोही कसैले कार्य गरेमा कानुन बमोजिम कारबाही हुने व्यहोरा सबैलाई जानकारी गराइन्छ ।’

Advertisement

मत सर्वेक्षणले निष्पक्ष निर्वाचनलाई प्रतिकूल प्रभाव पार्ने भन्दै मत सर्वेक्षण नगर्न, त्यससम्बन्धी सामग्री प्रचारप्रसार नगर्न र सामाजिक सञ्चालमा प्रकाशन पनि नगर्न भनेको छ ।

निर्वाचनका क्रममा को लोकप्रिय छ र को निर्वाचित हुनेछ भन्ने आँकलन गर्न मतदाताहरुको नमूना लिई मत सर्वेक्षण गरिन्छ । यस्तो सर्वेक्षणले अरु मतदाता प्रभावित हुने र निष्पक्ष रुपमा निर्वाचन गर्न बाधा हुने भन्दै निर्वाचन आयोगले मत सर्वेक्षणलाई बन्देज लगाउँदै आएको छ । गत स्थानीय निर्वाचनमा कतिपय सञ्चारमाध्यम र संस्थाले मत सर्वेक्षण गरेका थिए भने आयोगले पनि स्पष्टीकरण सोधेको थियो ।