Thursday, July 30

समतामा देवकोटाको सम्झना

नेपालअखबार, पाेखरा  । पोखरेली युवा सांस्कृति परिवारको नियमित रुपमा हुने समता काव्य सन्ध्याको ३५१ औं श्रृङ्खला गत शनिबार महाकवि देवकोटा प्रति समर्पित गर्दै सम्पन्न भएको छ । महाकवि देवकोटाको ११३ औं जन्मजयन्तीका अवसरमा साहित्य, कला र संगीतको उत्थान हाम्रो प्रण भन्ने उदघोषका साथ पोखरामा २०३४ सालदेखि क्रियाशील पोखरेली युवा सांस्कृतिक परिवारले देवकोटाका कविता सहित अन्य कविहरुका कविता वाचन र देवकोटाको साहित्यिक योगदानको परिचर्चा गरेको हो ।
कार्यक्रममा स्वागत मन्तव्य राख्दै साहित्य संयोजक शरण आँशुले नयाँ कार्यसमितिको पहिलो कार्यक्रममा उत्साह जनक उपस्थितिले थप हौसला मिलेको विचार व्यक्त गर्नुभयो ।
देवकोटाका बारे अझै धेरै उत्खनन गर्न बाँकी रहेको र देवकोटाले साहित्यमा मात्रै नभएर त्रिभूवन विश्वविद्यालयको स्थापनामा समेत महत्वपूर्ण योगदान दिएको कार्यक्रमका प्रमुख अतिथि नेपाली संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका पूर्व सदस्य सचिव कवि तीर्थ श्रेष्ठले बताउनुभयो ।
कार्यक्रममा विशेष अतिथिका रुपमा बिम्ब कवि रमेश श्रेष्ठले देवकोटाका अक्षरहरुका उज्यालोले नेपाली साहित्य थप आलोकित भएको विचार व्यक्त गर्नुभयो ।
विशेष अतिथि मद्रास इन्स्टीच्यूट अफ डेभलेपमेन्ट स्टडिज चेन्नईका प्रोफेसर डा. अनन्त कुमार गिरीले आफ्ना उडिया र अंग्रेजीका भाषाका कविता वाचन गर्नुभएको थियो ।
उक्त श्रृङ्खलामा संस्थाका उपाध्यक्ष रिता अधिकारी रितु, साहित्य संयोजक शरण आँशु र सदस्य शिव संकल्पले देवकोटाका क्रमैसँग गद्य, अंग्रेजी र छन्दका कविता वाचन गर्नुभएको थियो भने कविहरु इश्वरमणी अधिकारी, दिपक समिप, निकेश गिरी, अब्यग्र अस्मित, लक्ष्मण थापा, प्रकाश आचार्य, रिता अधिकारी रितु, शिव संकल्प, इन्द्र राना प्रतिक, अमृत, खिम लामिछाने काजी, प्रवेग प्रमाण, सन्देश गौडेल, चन्द्रावती वाग्ले र शिव त्रिपाठीले आ—आफ्ना कविता वाचन गर्नुभएको थियो । यसै गरी कक्षा ७ मा अध्ययनरत आर्या त्रिपाठीले देवकोटाको बाल कविता वाचन गर्नुभएको थियो ।
नियमित रुपमा संचालन हुने समता काव्य सन्ध्या, समता सांगीतिक साँझ तथा समता कला कार्याशालाका अलावा साहित्य, कला र संगीतसँग सम्बन्धित राष्ट्रिय स्तरका कार्यक्रमहरु समेत योजनामा रहेको बताउँदै संस्थाका अध्यक्ष तथा कार्यक्रमका सभापति उपेन्द्र पौडेलले सबैको सक्रिय सहभागिताको अपेक्षा गरेको बताउनुभयो । कार्यक्रमको संचालन संस्थाका सह—सचिव शिव त्रिपाठीले गर्नुभएको थियो ।

Advertisement
Advertisement

Advertisement