Wednesday, July 29

स्पष्टीकरण सोधेकै भरमा दलका नेताहरूले कोलाहाल मच्चाएर चिच्याउन आवश्यक छैन : आयुक्त भण्डारी

नेपालअखबार,  काठमाडाैं  । निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले निर्वाचन आचारसंहिता पालना गर्ने र गराउने सम्बन्धमा सञ्चारमाध्यम तथा सञ्चारकर्मीहरूले नेतृत्वदायी भूमिका निर्वाह गर्नुपर्ने बताउनुभएको छ । गण्डकी प्रदेशस्तरीय मिडिया अभिमूखीकरणको आज पोखरामा उद्घाटन गर्दै आयुक्त भण्डारीले निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष, भयरहित र मितव्ययीरूपमा सम्पन्न गर्न मिडियाको सहयोग रहँदै आएकोले आशन्न निर्वाचनमा पनि यो सहयोग रहने विश्वास व्यक्त गर्नुभयो ।

Advertisement

आचारसंहिता परिपालना गर्ने सम्बन्धमा आयोगमा परेका उजुरी र प्राप्त सूचनालाई आधार मानी प्रमाणको आधारमा दलका नेता एवं उम्मेदवारलाई स्पष्टीकरण माग्दा त्यस्ता व्यक्तिहरूले आकाश खस्यो, पृथ्वी फुट्यो भनेजसरी कोलाहाल गर्नु कानूनको दृष्टिमा नमिल्ने कुरा भएको समेत आयुक्त भण्डारीले स्पष्ट गर्नुभयो ।

Advertisement
Advertisement

आयुक्त भण्डारीले भन्नुभयो, ‘स्पष्टीकरण सोध्नु नै आचारसंहिता उल्लंघनकर्तालाई कारबाही भएको नभई निज विरुद्ध परेको उजुरीमा प्राकृतिक न्यायको सिद्धान्त बमोजिम सुनुवाइको मौका दिइएको र मौकामा प्रतिक्रिया पेश गरेपछि आयोगले संकलन गरेको प्रमाण र निजले पेश गरेको प्रतिक्रियालाई विश्लेषण गरी आयोगबाट हुने निर्णयलाई मात्रै निजलाई हुने कारबाही ठहर हो ।’ उहाँले त्यसपछि मात्रै आचारसंहिता उल्लंघनकर्तालाई कसुरदार ठहर गर्ने वा सफाइ दिने निर्णय मात्र अन्तिम निर्णय भएकाले यसलाई राम्रोसँग बुझ्न आग्रह गर्नुभयो ।

Advertisement

गत वैशाख ३० मा सम्पन्न स्थानीय तह सदस्य निर्वाचन होला कि नहोला भन्ने आशंकाबीच सञ्चार जगतले निरन्तर निर्वाचनका पक्षमा खबरदारी गरेका कारण तोकिएको मितिमा अभूतपूर्व रूपमा निर्वाचन सम्पन्न हुन सकेको उहाँले बताउनुभयो । निर्वाचन आयोगले संविधान, कानून, ऐन, नियम, निर्देशिका मात्रै चिन्ने बताउनुहुँदै आयुक्त भण्डारीले कडाइका साथ निर्वाचन आचारसंहिता कार्यान्वयन लागू गरिने बताउनुभयो ।

सञ्चारकर्मीहरूले सम्प्रेषण गर्ने समाचार हरेक मतदाताको हातहातमा पुग्ने भएकाले स्वतन्त्र, निष्पक्ष र भयरहित निर्वाचनका लागि सहयोग पुग्ने समाचार सम्प्रेषण गर्न आयुक्त भण्डारीले आग्रह गर्नुभयो । सञ्चारमाध्यमका लागि उम्मेदवारी मनोनयन गराएका सबै उम्मेदवार बारबार हुने भएकाले कसैको पक्ष वा विपक्षमा समचार सम्प्रेषण नगर्न आग्रह गर्नुभयो ।

सामाजिक सञ्जालमार्फत प्रवाह हुनेसक्ने मिथ्या सूचना, दुष्प्रचार र द्वेषपूर्ण अभिव्यक्तिलाई निरुत्साहित गर्न सञ्चारमाध्यमले महत्वपूर्ण भूमिका निर्वाह गर्न सक्ने भएकाले यस्ता अभिव्यक्तिलाई सञ्चारमाध्यमले स्थान दिन नहुने उहाँले बताउनुभयो । यही कात्तिक १७ पछि जब राजनीतिक दलले आमसभा, कोणसभा, भेला, -याली, गोष्ठी तथा सेमिनार गरेर निर्वाचन प्रचारप्रसार गर्न थाल्नेछन् त्यसपछि आचारसंहिता उल्लंघनका घटना बढ्न सक्ने भएकाले सञ्चारमाध्यम चनाखो भएर रिर्पोटिङ गर्नुपर्ने उहाँले बताउनुभयो ।

आयोगले आचारसंहिता उल्लंघनको सूचना तथा उजुरी विभिन्न माध्यमबाट लिन सक्ने भएकाले मिडियाबाट सम्प्रेषण हुने समाचार तथा सूचनालाई आधार मानेर आचारसंहिता उल्लंघन गर्नेहरूमाथि आयोगले छानबिन र कारबाही गर्ने बताउनुभयो । निर्वाचन आचारसंहिता राजनीतिक दलहरूको सहभागितामा बनाइएको र सोको कार्यान्वयन गर्न दलहरूले प्रतिबद्धता जनाइसकेको अवस्थामा यसको पूर्ण कार्यन्वयन हुन सकेमा निर्वाचन पूर्णरूपमा स्वच्छ, निष्पक्ष, भयरहित एवं शान्तिपूर्ण हुने आयुक्त भण्डारीले बताउनुभयो ।

निर्वाचनका बेला सामाजिक सञ्जालमार्फत हुन सक्ने मिथ्या सूचना, दुष्प्रचार र द्वेषपूर्ण अभिव्यक्ति नियन्त्रणका लागि आयोगले फेसबुकको मातृ कम्पनी मेटासँग सहकार्य गरिरहेको जानकारी दिँदै उहाँले निर्वाचनका बारेमा कसैले सामाजिक सञ्जालमार्फत मिथ्या सूचना, दुष्प्रचार र द्वेषपूर्ण अभिव्यक्ति दिएमा त्यसलाई सामाजिक सञ्जालबाट हटाउनेसम्मको व्यवस्था मिलाइएको आयुक्त भण्डारीले बताउनुभयो ।

आयोगको आधिकारीका सूचनाका लागि आयोगबाट सञ्चालन गरिएको इबुलेटिन, आयोगको सामाजिक सञ्जाल, प्रवक्ता तथा नीति निर्देशिकाहरू पछ्याउन उहाँले आग्रह गर्नुभयो । प्रतिनिधि सभा सदस्य र प्रदेश सभा सदस्य निर्वाचनबाट देशको नीति निर्माण तहमा पुग्ने जनप्रतिनिधि चुनिने भएकाले मतदातालाई सुसूचित बनाउने गरी समाचार सम्प्रेषण गर्न आग्रह गर्नुभयो । सो अवसरमा उहाँले आयोग र आयोगका संयन्त्रलाई निरन्तर खबरदारी गर्न सञ्चारमाध्यमलाई आग्रह गर्नुभयो ।