Saturday, July 4

बलात्कारको घटनामा उजुरी गर्न रोक लगाउने २ जनालाई कैद र जरिवानाको फैसला

नेपालअखबार,  सप्तरी। १७ वर्षीया बालिकालाई आत्महत्या गर्न दुरुत्साहन गर्ने आरोप लागेका २ जनालाई कैद र जरिवानाको फैसला भएको छ।

Advertisement

गम्भीर अपराधको घटना मिलाउन दबाब दिने सप्तरी डाक्नेश्वरी नगरपालिका–७ ब्रहमपुर ललितपुरका ५० वर्षीय शत्रुघन मण्डल र ४५ वर्षीय उचितलाल मण्डललाई एक वर्ष कैद सजायको फैसला भएको हो।

Advertisement
Advertisement

जिल्ला न्यायाधीश हेमन्त रावलको इजलासले सो फैसाला गरेको हो। आरोपितहरूको नजिकका नातेदार रहेका उनीहरूबाट रु २५ हजार पीडित परिवारलाई क्षतिपूर्तिवापतको रकम भराउनुपर्ने पनि फैसला पनि भएको अदालतका श्रेस्तेदार कुमार मास्केले बताए।

Advertisement

बलात्कारको घटनापछि आरोपितहरूविरुद्ध उजुरी गर्न रोक लगाउँदै उनीहरुले पीडित परिवारलाई प्रहरीकहाँ उजुरी गरे गाउँ निकाला गर्ने र सामाजिक बहिष्कार गर्ने चेतावनी दिएका थिए। न्याय पाउने आशा मरेपछि घटनाको भोलिपल्टै पीडित बालिकाले आत्महत्या गरेकी जनाइएको छ।

शत्रुघनका दाजु ६५ वर्षीय जयकान्त मण्डल, भाइ ४५ वर्षीय देबु मण्डल, सोही गाउँका ५० वर्षीय सत्यनारायण मण्डल, ६० वर्षीय वासुदेव मण्डल, ४५ वर्षीय बिन्देश्वर मण्डल र वंशराज मण्डललाई जनही रु २० हजार जरिवाना गर्ने फैसला भएको छ।

निजहरू सबैबाट समेत जनही रु २५ हजार पीडित परिवारलाई क्षतिपूर्तिवापतको रकम भराउने फैसला भएको अदालतका श्रेस्तेदार मास्केले बताए।

सामूहिक बलात्कारका मुख्य आरोपित १७ र १६ वर्षीय दुई बालकलाई कसुरदार ठहर गरी सजाय निर्धारणका लागि यही पुस २८ गतेको मिति निर्धारण गरिएको छ।

बलात्कारको आरोपमा २०७७ असोज १ गते पक्राउ परेका दुई बालक अदालतको आदेशमा असोज २७ गतेदेखि पुर्पक्षका लागि बाल सुधारगृह वीरगञ्जमा छन्। सोही घटनामा ‘वारेण्ट’पछि अदालतमा हाजिर भएका २७ वर्षीय धर्मदेव मण्डललाई मुख्य कसुरदारलाई हुने सजायको आधा सजाय हुने ठहर गरिएको छ।

अर्का फरार २५ वर्षीय विसु भनिने विष्णु मण्डलको हकमा पक्राउ परेपछि फैसला हुने गरी मुद्दा मुल्तबी राख्ने फैसला भएको छ। प्रहरीले आत्महत्या दुरुत्साहनमा जयकान्त, वासुदेव र सत्यनारायणलाई २०७७ भदौ ३० गते नै पक्राउ गरेको थियो।

उनीहरु जनही रु एक लाख १० हजार धरौटी राखेर पुर्पक्षका लागि रिहा भएका थिए। प्रहरीले राजविराजबाट २०७७ पुस ६ गते शत्रुघनलाई पक्राउ गरेकामा अदालतको आदेशानुसार पुस ८ गते रु दुई लाख धरौटी राखी पुर्पक्षका लागि रिहा भएका थिए।

आफ्नो धानखेतमा पानी हेर्न गएकी बालिकामाथि २०७७ भदौ २९ गते बिहान सामूहिक बलात्कार भएको थियो। बलात्कारको उजुरी गर्न पञ्चहरूले रोक लगाएपछि घटनाको दोस्रो दिन भदौ ३० गते उनले आत्महत्या गरेकी थिइन्।

सामूहिक बलात्कार घटनाका आरोपितहरूविरुद्ध प्रहरीकहाँ उजुरी गर्न गाउँलेले नै रोक लगाउँदै धम्कीपूर्ण चेतावनी दिएपछि पीडित बालिकाले घरमै आत्महत्या गरेको भन्दै पीडितकी आमाले उजुरी दिएकी थिइन्। रासस