
नेपालअखबार, काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले ई-लाइब्रेरी व्यवस्था नभएका विद्यालयहरुलाई तत्काल प्रबन्ध गर्न निर्देशन दिएको छ ।आईसीटी सञ्चालन गर्न अनुदान वा सहायता प्राप्त गरी आईसीटी ल्याब सञ्चालन गरिरहेका ६ हजार ८६९ विद्यालयहरुले १ देखि १२ सम्मका डिजिटल पाठ्यक्रम र पाठ्यपुस्तक, सहायक पाठ्यसामग्री र किताब र पाठ्यक्रममा आधारित श्रव्य, श्रव्यदृश्य पाठहरु, डिजिटल किताब, डिक्सनरी र अन्य अडियो तथा भिडियो सामग्रीहरु ई–लाईब्रेरीमा राख्नुपर्ने प्रावधान छ ।
त्यसैले यी विद्यालयहरुले ई–लाइब्रेरीको व्यवस्था नगरेको भए तत्काल प्रबन्ध गरी विद्यार्थीको सिकाइमा प्रयोगमा ल्याउन निर्देशन दिएको हो । र, अन्य विद्यालयहरुले पनि उल्लेखित सामग्रीहरु प्राप्त गरी शिक्षण सिकाइलाई प्रभावकारी र गुणस्तरीय बनाउन यसको अधिकतम सदुपयोग गर्न अनुरोध मन्त्रालयले गरेको छ ।
मन्त्रालयले प्रेस विज्ञप्ति जारी गर्दै विद्यालयहरुले व्यवस्था अनुसार कार्यान्वयन गरे नगरेको स्थानीय तह र शिक्षा विकास तथा समन्वय इकाईहरुलाई विद्यालयको अनुगमान गर्न भनेको छ । साथै यस्ता विषयहरुलाई अन्तरक्रिया जस्ता कार्यक्रमहरुमा उच्च प्राथमिकतामा राखी सो सम्बन्धी पृष्ठपोषण गर्न अनुरोध गरेको छ ।

