Wednesday, July 22

सडकमा नाचेको आरोपमा एक इरानी जोडीलाई साढे १० वर्षको जेल सजाय

नेपालअखबार, एजेन्सि। सडकमा नाचेको आरोपमा एक इरानी जोडीलाई साढे १० वर्षको जेल सजाय सुनाइएको छ।

Advertisement

उनीहरूमाथि प्रहरीले भ्रष्टाचार, वेश्यावृत्ति र दुष्प्रसार गरेको आरोप लगाइएको थियो जसलाई अदालतले दोषी ठहर गरेको समाचार संस्था एपीले जनाएको छ।

Advertisement
Advertisement

नाचेको भिडिओ सामाजिक सञ्जाल इन्स्टाग्राममा  सार्वजनिक भएपछि उनीहरूलाई पक्राउ गरिएको थियो। भिडिओमा उनीहरू राजधानी तेहरानस्थित फ्रीडम टावर अगाडि नाचिरहेको देखिन्छन्।

Advertisement

इरान सरकारले महिलालाई पुरुषसँग एक्लै नाच्न अनुमति दिएको छैन।

इरानका २१ वर्षीया अस्तियाज हकीकी र उनीसँग विवाह तय भएका २२ वर्षीय अमिर मोहम्मद अहमदीलाई भ्रष्टाचार तथा देहव्यापारलाई बढवा दिएको, राष्ट्रिय सुरक्षाविरुद्धमा योजना बनाएको र स्थापित मान्यताविरुद्ध प्रचार गरेको अभियोगमा दोषी ठहर गरिएको बताइएको छ।

पक्राउ पर्नुअघि पेसाले आफूलाई फेसन डिजाइनर बताउने हकीकीको घरमा प्रहरीले छापा मारेको थियो।

उनीहरूलाई दोषी ठानिएको फरकफरक अभियोगका लागि संयुक्त रूपमा साढे १० वर्षको सजाय सुनाइएको अमेरिकास्थित ह्यूमन राइट्स एक्टिविस्ट्स न्यूज एजेंसीलाई उद्धृत गर्दै बिबिसीले भनेको छ।

गत वर्ष सेप्टेम्बरमा २२ वर्षीया महसा अमिनीको प्रहरी हिरासतमा मृत्यु भएपछि सरकार विरोधी प्रदर्शन देशभरि फैलिएको थियो। विरोधमा उत्रिएका मानिसहरूलाई सरकारी अधिकारीहरूले कडाभन्दा कडा सजाय दिइरहेका छन्।

अमिनीको मृत्युपश्चात् इरानमा परिस्थिति व्यापक रूपमा अस्थिर बनेको छ। लामो समयदेखि कायम गरिबी, बेरोजगारी, असमानता, अन्याय र भ्रष्टाचारबारे पनि मानिसहरूले असन्तुष्टि व्यक्त गर्न थालेका छन्।

उनको मृत्युलाई लिएर भएको विरोध प्रदर्शनका क्रममा सयौँ मानिस मारिएका छन् र हजारौँ पक्राउ परेका छन्।