Saturday, July 11

काभ्रेका भूमिहीनलाई लालपुर्जा दिने तयारी

नेपालअखबार, काभ्रे  ।  काभ्रेपलाञ्चोकको १९ भूमिहीन परिवारलाई जमिनको लालपुर्जा दिने तयारी गरिएको छ ।  जिल्लास्थित राष्ट्रिय भूमि आयोगको कार्यालयको सिफारिसमा २७ वर्षअघि निर्णय गरिएकामध्ये बाँकी १९ परिवारलाई लालपुर्जा दिइने भएको हो । आयोगको तत्कालीन काभ्रेपलाञ्चोक–सिन्धुपाल्चोक जिल्ला समितिको धुलिखेलस्थित कार्यालयले विसं २०५२ मा गरेको निर्णयका आधारमा १९ भूमिहीन परिवारलाई जमिनको लालपुर्जा दिने तयारी गरिएको आयोगका जिल्ला सदस्य रामबहादुर तामाङले जानकारी दिए । उनका अनुसार तत्कालीन समयमा निर्णय गरिएका एक सय २७ भूमिहीन परिवारलाई यसअघि नै लालपुर्जा दिइसकिएको छ ।

Advertisement

हाल बाँकी रहेका १९ परिवारलाई निर्णयाअनुसार लालपुर्जा दिन मालपोत कार्यालयले श्रेस्ता भिडाउने काम गरिरहेको छ । कार्यालयले १९ मध्ये छ जनाको जमिनको श्रेस्ताबारे आयोगको कार्यालयसँग थप कागजात मागेको उनले बताए । “सबै प्रक्रिया अन्तिम चरणमा पुगेको छ, केही हप्ताभित्र जिल्लाका १९ भूमिहीन परिवारलाई जमिनको लालपुर्जा प्रदान गर्दैछौँ”, उनले भने।

Advertisement
Advertisement

काभ्रेका भूमिहीन परिवारले विसं २०५२ मा गरेको निर्णयका आधारमा दिइएको परिमाणको जमिन भोगचलन गर्दै आएका थिए । “म २०५२ सालदेखि मलाई दिने भनिएको १९ रोपनी जमिनमा घरसमेत बनाई भोगचलन गर्दै आएको छु, अहिले लालपुर्जा पाउने आशामा बसेको छु”, मण्डनदेउपुर नगरपालिका–४ का सङ्गेसिं तामाङले भने ।

Advertisement

सरकारले आयोगलाई भूमिहीन दलित, सुकुम्बासी र अव्यवस्थित बसोबासीको पहिचान र प्रमाणीकरणको आधार र मापदण्ड तोक्ने, स्थानीय तहबाट लगत सङ्कलनको लागि आवश्यक कार्यविधि र ढाँचा तयार गरी स्वीकृत गर्ने, तिनको पहिचान, लगत सङ्कलन र प्रमाणीकरणको काम स्थानीयतमार्फत गर्ने, सम्बन्धित मालपोत कार्यालयसँग समन्वय गरी सम्बन्धित नापी कार्यालयबाट जग्गा नापजाँच गरी नक्सा श्रेस्ता तयार गर्ने गराउने अधिकार दिएको छ ।

सरकारले करिब तीन दशकअघि आयोग गठन गरेको थियो । सरकारले आयोगमार्फत पटकपटक भूमिहीनबारे लगत सङ्कलन कार्यको आह्वान गरेपछि काभ्रेपलाञ्चोकको छ नगर र सात गाउँपालिकाका करिब तीन हजारले जिल्लास्थित आयोगको कार्यालयबाट फारम लगेको जनाइएको छ । रासस