Thursday, July 23

सरकारी निकायका वेबसाइटबीच एकीकृत वेबसाइट व्यवस्थापन प्रणाली सुरू

नेपालअखबार, काठमाडाैं । सरकारी निकायको वेबसाइटहरुबीच एकरूपता कायम गर्न एकीकृत वेबसाइट व्यवस्थापन प्रणाली विकास गरिएको छ।

Advertisement

मंगलबार सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले मन्त्रालयमा एक औपचारिक कार्यक्रमबीच सूचना प्रविधि विभागद्वारा विकास गरिएको एकीकृत वेबसाइट व्यवस्थापन प्रणालीको शुभारम्भ गरेकी हुन्।

Advertisement
Advertisement

यस प्रणाली अन्तर्गत सूचना तथा प्रशारण विभाग, हुलाक सेवा विभाग, सूचना प्रविधि विभाग र मुद्रण विभागका नयाँ वेवसाइट सञ्चालनमा आउने भएको छ। शुभारम्भ कार्यक्रममा बोल्दै मन्त्री शर्माले सबै सरकारी निकायका आ–आफ्नै वेबसाइट हुने र सर्वसाधारणले सूचना खोज्न पनि झन्झटिलो हुने भएकाले अब एकै प्रणालीमार्फत सरकारी निकायको सूचनाहरु पाउन सकिने अवस्था आएको बताइन्।

Advertisement

उनले यसबाट धेरै खर्च कटौती हुने तथा साइबर सुरक्षाको दृष्टिले पनि सुरक्षित हुने बताइन्।

‘हाम्रा सबै सरकारी वेवसाइट हेर्दाखेरी विभिन्न थरी, विभिन्न डिजाइन, त्यहाँभित्र पस्दा कसको सूचना कतातिर कुनमा छ? के छ? भनेर सर्वसाधारणले पनि खोज्न धेरै अफ्ठ्यारो हुने। विभिन्न मन्त्रालयको छुट्टाछुट्टै खोज्नुपर्ने जुन स्थिति छ, त्यो स्थितिको अन्त्य हाम्रो यो प्रणालीको विकासले गर्नेछ’, उनले भनिन्, ‘कार्यविधि नै पास भइसकेको हुनाले हामीलाई यसमा फलोअपको कुरा मात्रै हो। स्वभाविक ढंगले सम्बन्धित मन्त्रालयले गर्ने नै छन्। आवश्यक परे हामी यहाँबाट फलोअप पनि गर्नेछौं।’

सूचना प्रविधि विभागले निकायगत वेबसाइट व्यवस्थापन गर्नका लागि सरकारी निकायलाई प्रणाली व्यवस्थापक उपलब्ध गराउने र सोही प्रयोगकर्तामार्फत सम्बन्धित निकायले आफ्नो वेबसाइटमा मेनु र उपमेनुहरु थपघट गर्न, नारा तथा लोगो राख्न, ग्यालरी, भिडियो र व्यानर व्यवस्थापन गर्न सकिने जनाइएको छ।

त्यस्तै कर्मचारीको विवरण, संगठन संरचना लगायतका कामहरु पनि गर्न सकिने बताइएको छ। त्यस्तै सबै सरकारी निकायहरुको निगरानी गरी ह्याक हुनसक्ने जोखिम कम गर्न सो को तत्काल जानकारी गराउन वेव मोनिटरिङ प्रणाली समेत सञ्चालनमा ल्याइएको जानकारी गराइएको छ ।