
नेपालअखबार, काठमाडौँ । कृषि तथा पशुपन्छी विकास मन्त्री डा .बेदुराम भुसालले कृषिजन्य उत्पादनलाई उपेक्षा नगर्न आग्रह गर्नुभएको छ । कृषिजन्य उत्पादनको प्रयोगमा उपेक्षा हुन थालेको भन्दै यसको प्रयोग बढाउने गरी काम गर्नुपर्नेमा मन्त्री भुसालको जोड छ ।
मन्त्रालय अन्तर्गतको खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागमा आयोजित एक कार्यक्रममा बोल्दै मन्त्री भुसालले भने, ‘घरघरमा, चुलो चुलोमा विषादी छ भन्ने आम धारणा छ । हामीले नखाने खायौँ, खाने खाएनौँ, यसको नियमन, अनुगमन गर्ने काम यही विभागकै हो ।’
खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका प्रयोगशाला स्तर उन्नतिमा आफ्नो विशेष जोड दिनुपर्नेमा उहाँको जोड थियो ।
हालै मात्र सरकारले तरकारी र फलफूलको विषादी चेकजाँच सम्बन्धी नयाँ निर्णय गरेको भन्दै यसको कार्यान्वयनमा समेत विशेष ध्यान दिनुपर्नेमा जोड दिनुभयो ।
तत्काल खाद्य स्वच्छता तथा गुणस्तर विधेयक संसदबाट पास गर्नुपर्नेमा जोड दिदैं उहाँले मानवीय स्वास्थ्यसँग सम्बन्धित विषयमा गम्भीर रहेर सेवा प्रवाह गर्न आग्रह गर्नुभयो ।

