Saturday, July 25

सत्ता र सम्पत्तिका लागि जे पनि गर्नेहरूका कारण देश अप्ठ्यारो अवस्थामा: गृहमन्त्री श्रेष्ठ

नेपालअखबार, काठमाडाैं। उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले सत्ता र सम्पत्तिका लागि जे पनि गर्नेहरूका कारण देश अप्ठ्योरो अवस्थामा आइपुगेको बताएका छन्।

Advertisement

वरिष्ठ पत्रकार पुरूषोत्तम दाहालको बाह्रौं कृति ‘कालपात्र’ सार्वजनिक गर्दै उनले भ्रष्टाचार र कमिसनको साँठगाँठलाई तोडेर मात्र देश बनाउन सकिनेमा जोड दिए।

Advertisement
Advertisement

नयाँ मूल्य स्थापित गरेर समाजलाई उन्नत बनाउनुपर्ने उपप्रधानमन्त्री श्रेष्ठको भनाइ थियो।

Advertisement

‘अहिले जीवन मूल्यमा ह्रास भएको छ, स्वार्थका निम्ति राज्यद्रोह गर्ने मानिस छन्, यस्तो अवस्थामा सफा राजनीतिले मात्र देशलाई परिवर्तन गर्न सक्छ, पार्टी र नेता नबदलिई देश बदलिँदैन, पुस्तकमा लेखकको आशय पनि यही छ, संसारका सुन्दरतम देशमध्ये औंलामा गन्न सकिनेमा नेपाल पनि पर्छ तर हामी अदक्ष कामदार खाडीमा पठाइ तिनले पठाएको विप्रेषणले देश चलाइरहेका छौं’, उनले भने।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा आफू मन्त्री हुँदा कर्मचारी राखेरमात्र निर्माण व्यवसायीसँग कुरा गरेको प्रसंग पनि कार्यक्रममा उनले सुनाए।

यस्ता कामको सुरूआत नगरी नयाँ मूल्य स्थापित नहुने उपप्रम श्रेष्ठको भनाइ थियो।

पुरूषोत्तम दाहालको बाह्रौं कृति ‘कालपात्र’ सार्वजनिक उपन्यासका लेखक दाहालले राजनीतिमा अपराध भइरहेको पीडाले उपन्यासको जन्म भएको जानकारी गराए।

मसानघाटबाट सुरू भएर मसानघाटमै ‘कालपात्र’ उपन्यास सकिने उनले सुनाए।

देश, संस्था कुनै पनि तह र तप्काको नेतृत्व गर्नेले ‘कालपात्र’ उपन्यास पढ्नैपर्ने लेखक दाहालले बताए।

‘सर्वाधिक विकृति पत्रकारिता क्षेत्रमा छ, हिजो प्रेस विरोधी बजेट आएको छ, प्रहरी, प्रशासन र न्यायालयमा पनि यस्तै विकृति छ, सरकारी अनुदान लिन कमिसन दिनुपर्छ, तर यो कसैले पनि भन्दैन’, उनले भने।

गत वर्ष छ महिना अमेरिका बसेका बेला उपन्यास तयार पारिएको जानकारी पनि लेखक दाहालले गराए।

पूर्वसांसद शोभाकर पराजुलीले उपन्यास मानवतावादको उत्कृष्ट उदाहरण रहेको बताए।

राजनीतिका नाममा नैतिकता र मानिसको व्यापार भइरहेको उनको भनाइ थियो।

‘राजनीतिमा छरपस्ट यौनको प्रभाव पनि उपन्यासमा आएको छ, रूपको प्रभावले राजनीतिमा के गर्छ भन्ने स्वरूप उपन्यासमा पढ्न पाइन्छ, राजनीतिले धर्म छोडेको कुरा पनि उपन्यासले व्यक्त गरेको छ’, उपन्यासमाथि टिप्पणी गर्दै पूर्वसांसद पराजुलीले भने।

खराब गर्नेहरू थोरै भए पनि सङ्गठित हुँदा समाज नै भ्रष्ट भएजस्तो देखिएको उल्लेख गर्दै उनले असल मानिसको पुनरोदयका आशा उपन्यासले गरेको बताए।