Thursday, July 30

नक्कली भुटानी शरणार्थी प्रकरण: सरकारी वकिलको थुनछेक बहस सकियो

नेपालअखबार, काठमाडाैं । नक्कली भुटानी शरणार्थी प्रकरणमा जारी थुनछेक बहसमा सरकारी वकिलका तर्फको बहस आज सकिएको छ।

Advertisement

सरकारी वकिलका तर्फको बहस सकिएसँगै अब प्रतिवादीतर्फबाट कानुन व्यवसायीले बहस सुरू गर्ने जिल्ला अदालत काठमाडौंका सूचना अधिकारी दीपक दाहालले जानकारी दिए।

Advertisement
Advertisement

उनले भने, ‘सरकारी वकिलतर्फको बहस सकिएको छ, अब प्रतिवादीतर्फबाट कानुन व्यवसायीले बहस गर्नु हुन्छ।’

Advertisement

जिल्ला अदालतका न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासमा जारी बहसमा यस प्रकरणका प्रतिवादीलाई थुनामुक्त गरे प्रमाण नष्ट हुनसक्ने तथा जाहेरीकर्ताको सुरक्षामा खतरा हुनसक्ने भन्दै थुनामा राखेर नै मुद्दाको पुर्पक्ष गर्नुपर्ने दलिल सरकारी वकिलले प्रस्तुत गरेका थिए।

सरकारी वकिलहरू सुरबहादुर परियार, निर्मला मरासिनी र हरिलाल भोरणले खाजा समय अघि बहस गरेका थिए।

यस्तै आजै जाहेरवालाको तर्फबाट पनि केही अधिवक्ताहरूले बहस गरेका छन्।

अधिवक्ताहरू सुशिल शर्मा सापकोटा, दीपकराज रेग्मी, स्वागत नेपाल, हरिप्रसाद खरेल, राधिका चौलागाईं र वरिष्ठ अधिवक्ता ध्रुवलाल श्रेष्ठले पनि बहस गरेका थिए।

नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्न रहेको आरोपमा पक्राउ परेका पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी, पूर्वगृहमन्त्री बालकृष्ण खाणसहित १८ जनालाई थुनछेक बहसका लागि उपस्थित गराइएको छ।

सो थुनछेक बहस यही जेठ ३१ गतेसम्म जारी रहने र त्यसपछि पुर्पक्षका लागि थुनामा पठाउने कि नपठाउने भन्नेबारेमा निर्णय लिइने बताइएको छ।

जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंले पक्राउ परेका १८ जनासहित फरार रहेका ३० जनालाई सङ्गठित अपराध, कीर्ते, ठगी तथा राज्य विरूद्धको आरोप गरी चार वटा मुद्दा लगाउँदै २७ करोड ५० लाख बिगो माग दाबीसहित जिल्ला अदालत काठमाडौंमा यही जेठ १० गते मुद्दा दायर गरिएको थियो।