
नेपालअखबार, काठमाडाैं। उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले विपद व्यवस्थापनका सन्दर्भमा गरेको मेहनत व्यवहारमा देखिनुपर्ने बताएका छन्।
आइतबार राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिको १८औं बैठकमा बोल्दै उनले त्यसतर्फ गम्भीर हुन मातहतका तथा सरोकारवाला निकायलाई निर्देशन दिए।
‘यस्तो गरिएको भए हुन्थ्यो यसो भएन, यहाँ कमजोरी भयो, यस्तो हुनुहुन्थेन भन्ने कुरा नहोस्,’ उनले भने, ‘के के गर्नुपर्ने हो, अहिले नै तयारी गरौं। ठोस कार्ययोजना बनाएर अघि बढ्नुपर्छ।’
कार्यकारी समितिका अध्यक्षसमेत रहेका मन्त्री श्रेष्ठले विगतको कमजोरी नदोहोर्याउने गरी काम गर्न पनि आग्रह गरे। उनले प्रतिकार्य योजनालाई सबै निकायबीच छलफल गरेर तयार पारी तत्काल लागू गर्न निर्देशन दिए।
पछिल्लो समय तातो हावाको लहर फैलिरहेको सन्दर्भमा उनले कहाँ के गर्नुपर्ने हो, खास योजना तयार पार्न पनि विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणलाई निर्देशन दिए।
‘एक-दुई दिनमै त्यस विषयमा ठोस प्रस्ताव ल्याउनुहोस्। त्यो कार्यान्वयनमा जाने गरी आओस्,’ उनले भने।
त्यस्तै उनले खतरा के हो र कसरी ‘रेस्पोन्स’ गर्ने भन्नेबारे तयारीमा जुट्न सबै निकायसँग आग्रह पनि गरे।
कार्यक्रममा प्राधिकरणका कार्यकारी प्रमुख अनिल पोखरेलले विपद व्यवस्थापनका लागि तयार पारेको प्रतिकार्य योजना तथा तातो हावाको लहर र सम्भावित विपद र त्यसको अवस्थाका विषयमा जानकारी गराएका थिए।
कार्यक्रममा जल तथा मौसम विज्ञान विभागले एक-दुई दिनभित्रै मनसुन भित्रिने र यसपालि देशैभर सरदरभन्दा कम वर्षा हुने जानकारी गराएको थियो।
कम वर्षा हुने भन्दैमा वर्षा नै नहुने, विपद नआउने होइन भन्दै उनले विभाग त्यसतर्फ सचेत हुनुपर्ने र आवश्यक पूर्वतयारीमा जुट्नुपर्ने बताए।
उनका अनुसार कुनै ठाउँमा एकैपटक धेरै पानी पर्यो भने त्यो ठाउँमा विपदको जोखिम हुन सक्छ। समग्रमा धेरै स्थानमा सुख्खा लाग्ने अनुमान भने गरिएको छ।

