
नेपालअखबार , धनगढी,। सुदूरपश्चिम प्रदेश प्रहरीका लागि कार्यालयसहित अत्याधुनिक भवनहरू धनगढीमा निर्माण भएका छन्।
प्रदेश प्रहरी कार्यालयको परिसरमा चार तलाको कार्यालय, प्रहरी कर्मचारी निवास तथा बेरेक र मेस बनाइएका हुन्।
भौतिक पूर्वाधारमा आत्मनिर्भर हुँदै जनस्तरमा समर्पित एवम् गुणस्तरीय सेवा दिने लक्ष्य अनुरूप संरचना निर्माणमा जोड दिने गुरूयोजना अनुसार भवनहरू तयार गरिएको हो।
सुविधा सम्पन्न कार्यालय निर्माणका लागि सुदूरपश्चिम प्रदेश सरकारले बजेट दिएको हो।
सुरू लागत अनुमान ३५ करोड २९ लाख ९४ हजार ५ सय १२ रहेकोमा सार्वजनिक खरिद ऐन अनुसार खुला बोलपत्रमार्फत् प्रतिस्पर्धा गराउँदा निर्माण कम्पनी र आन्तरिक मामिला तथा कानुन मन्त्रालयबीच २०७८ वैशाख १९ गते मूल्य अभिवृद्धि करसहित २३ करोड ७६ लाख ६ हजार ७ सय २१ रुपैयाँ लागतमा २ वर्षभित्र निर्माण सक्ने गरी सम्झौता भएको थियो।
समय सकिन १ सय ४५ दिन अघि नै ठेकेदारले भवन निर्माण गरिदिएका छन्।
८ वटा ठूला भवन समय अगावै बनाएकोमा निर्माण कम्पनीलाई प्रदेश सरकारका मुख्यमन्त्री कमलबहादुर शाहले सम्मान गरे।
प्रदेश प्रहरीको नयाँ कार्यालयको मुख्यमन्त्री शाहले सोमबार उद्घाटन गरे।
उनले प्रहरीको मनोबल बढाउँदै भौतिक सुविधा र प्रविधिमैत्री बनाउन प्रदेश सरकारले संघसित सहकार्य गर्ने बताए।

