Thursday, July 16

लम्पी स्किनबाट नवलपरासी पूर्वमा मात्र ४१३ गाईभैँसी मरे

नेपालअखबार, नवलपुर । नवलपरासी (बर्दघाट–सुस्तापूर्व)मा लम्पी स्किनका कारण छ हजार २४ पशुचौपाया सङ्क्रमित भएका छन् । जिल्लामा यस रोगबाट हालसम्म चार सय १३ गाईभैँसीको मृत्यु भएको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रले जनाएको छ ।

Advertisement

केन्द्रका प्रमुख पशु चिकित्सक डा. ऋषभ गुरागाईंले जिल्लाका गाईभैँसीमा लम्पी स्किन महामारीका रुपमा फैलिएको बताए । ‘जिल्लामा लम्पी स्किन नियन्त्रणका लागि खोप तथा औषधिको व्यवस्था गरिएको भए पनि नियन्त्रण बाहिर गएको छ’, उनले भने, ‘लम्पी स्किनबारे सचेतना जगाउँदै सावधानी अपनाउनु नै अहिलेका लागि लम्पी स्किनको जोखिमबाट जोगिन सकिन्छ ।’

Advertisement
Advertisement

उनले जिल्लाको कावासोती नगरपालिकामा लम्पी स्किनको सङ्क्रमणदर उच्च रहेको बताए । कावासोतीमा हालसम्म सबैभन्दा बढी एक सय ५१ पशु चौपाया मरेका जनाउँदै डा. गुरागाईंले दुई हजार १३ पशु लम्पी स्किनबाट सङ्क्रमित भएका जानकारी दिए ।

Advertisement

मध्यविन्दु नगरपालिकामा लम्पी स्किनबाट ९७ पशुको मृत्यु भएको तथा हालसम्म एक हजार एक सय ८० गाईभैँसी सङ्क्रमित भएका उनले बताए । गुरागाईंका अनुसार देवचुली नगरपालिकामा लम्पी स्किनबाट हालसम्म ६४ गाईभैँसीको मृत्यु हुँदा पाँच सय ८१ सङ्क्रमित भएका छन् ।

यसैगरी विनयी त्रिवेणी गाउँपालिकामा एक हजार एक सय ९० गाईभैँसी सङ्क्रमित तथा २२ को मृत्यु भएको उनले बताए । बौदिकाली गाउँपालिका एक सय ८४ गाईभैँसीमा लम्पी स्किनको सङ्क्रण देखिएको उल्लेख गर्दै पशु चिकित्सक गुरागाईंले ३६ गाईभैँसीको मृत्यु भएको बताए ।

गैंडाकोट नगरपालिकामा लम्पी स्किनबाट २१ गाईभैँसीको मृत्यु हुनुका साथै चार सय २३ सङ्क्रमित, हुप्सेकोट गाउँपालिकामा १४ पशुको मृत्यु तथा तीन सय ३१ सङ्क्रमित एवं बुङिलटार गाउँपालिकामा आठ गाईभैँसीको मृत्यु तथा एक सय २२ सङ्क्रमित भएका छन् ।

भेटेरीनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्रले जिल्लाका आठवटै स्थानीय तहमा लम्पी स्किन रोगविरुद्धको खोप वितरण गरेको छ । लम्पी स्किन रोग न्यूनीकरण एवं रोकथामका लागि छ हजार भ्याक्सिन खरिद गरेर स्थानीय तहमा पठाइएको कार्यालय प्रमुख पशु चिकित्सक डा. गुरागाईंले जानकारी दिए ।

सङ्क्रमण थप फैलन नदिन भन्दै जिल्लाका देवचुली, गैँडाकोट र कावासोती नगरपालिका तथा विनयी त्रिवेणी गाउँपालिका आफैँलेसमेत खोप खरिद गरेर गाईभैँसीलाई लगाएको उनले बताए ।