Saturday, July 25

नार्कको प्रविधिले जुम्लामा ओखरका बेर्ना बेचेरै किसानको आम्दानी लाखौं रुपैया

नेपालअखबार, काठमाडौं । नेपाल कृषि अनुसन्धान परिषद (नार्क) ले जुम्लामा गरेको अनुसन्धानले ओखरको कलमी विरुवा उत्पादनमा ठूलो सफलता प्राप्त भएको छ । वि.सं. २०७३ मा हेल्भेटाससँगको सहकार्यमा जुम्लामा अवस्थित नार्क अन्तर्गतको वागवानी अनुसन्धान केन्द्र राजिकोटले कृषक स्तरीय तालीम गरेपश्चात् केन्द्रले ओखरको कलमी बेर्ना उत्पादनमा गहन अनुसन्धान गरी निकालेको प्रविधिले यो सफलता प्राप्त भएको हो ।

Advertisement

यस अघि जुम्लामा कलमी गरिएका बेर्नामा ४० प्रतिशत र कृषक स्तरमा त्यो भन्दा निकै कम सफलता हुने गरेको थियो । तर नयाँ प्रविधिले औषतमा ७० प्रतिशत कलमी बेर्ना सफल भएको जानकारी वागवानी अनुसन्धान केन्द्र राजिकोटका प्रमुख राजकुमार गिरिले दिए ।

Advertisement
Advertisement

पाताराशी गाउँपालिकाको उर्थुमा केही बर्षदेखि किसानको नर्सरीमा गरिएको एक अनुसन्धानमा चैत महिनाको दोस्रो हप्तामा औसत ७० प्रतिशत कलमी बेर्ना सफल भएका छन् । उक्त केन्द्रका प्रमुख गिरिका अनुसार ग्राफटिङ्ग विधिमा केही सुधार गरी कलमी गरेको सायनको पुरै भाग दुई तहको प्लाष्टिकले बाँध्ने र कोपिला निस्कने ठाउँमा एक तह बाँध्ने विधिबाट यो सफलता प्राप्त भएको हो ।

Advertisement

जुम्लामा यो विधि अपनाउनु अघि लागत खर्च बढी र कलमी सफलता कम हुने हुनाले कलमी बेर्नाको मुल्य एक हजार रुपैञा प्रति बेर्नाको पथ्र्यो । तर अहिले फार्मले लागत घटेकाले चार सय रुपैञामा बिक्री गर्ने गरेको छ । यो विधि अपनाएर पाताराशी गाउँपालिकाका सिंह कठायतले ४० लाख, दल कठायतले ३० लाख, वीर रोकायाले ७ लाख र चन्दननाथ नगरपालिकाका सुशील रावलले २० लाख रुपैया बार्षिक आम्दानी गर्ने गरेको केन्द्रका प्रमुख गिरिले बताए ।

जुम्लामा अहिले ओखरका करिब ३० हजार कलमी बेर्ना उत्पादन हुने गरेको तर माग त्यो भन्दा निकै बढी हुने गरेको छ । स्थानीय जातका ओखरमा गरेको कलमी विदेशी च्याण्डलर जातमा भन्दा सफल र बेर्नाको बृद्धि राम्रो हुने गरेको पाइएको छ ।

राष्ट्रिय कृषि प्रविधि सूचना केन्द्रका प्रमुख डा.कालिका प्रसाद उपाध्यायका अनुसार नेपालमा ओखरले ढाकेको क्षेत्र करिब ६ हजार हेक्टर भए पनि अहिले दुई हजार हेक्टरमा ९ हजार टन मात्र उत्पादन भइरहेको छ । तर यसको सम्भावना निकै बढी रहेको र कर्णाली प्रदेशका मुगु, डोल्पा, हुम्ला लगायतका जिल्लामा यो प्रविधिको अवलम्बन भएमा केही बर्षभित्रै ओखर उत्पादनमा नेपालले फड्को मार्नसक्ने उनले बताए ।