Monday, April 20

शान्ति सम्झौता उल्लंघन गर्दै अमेरिका, तालिबानमाथि थाल्यो आक्रमण

सन् २००१ यता जारी युद्ध अन्त्य गर्ने शान्ति सम्झौतामा हस्ताक्षर गरेको केही दिनमै अमेरिका र तालिबानबीचको लडाइँ सुरु भएको छ।

बुधबार अमेरिकी सेनाले तालिबान लडाकुमाथि हवाई आक्रमण गरेको अमेरिकाले पुष्टि गरेको छ।

Advertisement

अमेरिकी सेनाका प्रवक्ताले आफूहरुले तालिबानमाथि आक्रमण गरेको बताएका हुन्।

तालिबानको आक्रमणमा परेर २० अफगानी सेनाको मृत्यु भएपछि अमेरिकाले तालिबानमाथि आक्रमण गरेको बताइएको छ।

तालिबानको आक्रमणले शान्ति सम्झौता उल्लंघन भएको अमेरिकी भनाइ छ।

गत शनिबार भएको सम्झौताअनुसार आगामी मार्च १० सम्ममा झन्डै ५,००० तालिबान कैदी र १,००० अफगान सुरक्षाकर्मी आदानप्रदान गरिनेछ।

सोही मितिमा तालिबान र अफगान सरकारबीच वार्ता सुरु हुन लागेको छ।

तर अफगानिस्तानका राष्ट्रपति अशरफ गनीले आइतबार आफ्नो सरकार त्यसमा सहमत नभएको बताएका थिए। तालिबान रिहाई गर्ने विषय अफगान सरकारको नितान्त व्यक्तिगत विषय भएको उनले बताएका थिए।

सोमबार मात्र तालिबानले यदि कैदीहरू रिहा नभए अमेरिका र अफगान सरकार दुर्वैसँग वार्ता सुरु नहुने बताएको थियो।

यसबीचमा तालिबानले सरकारी फौजविरुद्ध आक्रमण सुरुवात गरेको हो। तालिबानको कारवाहीसँगै अमेरिकाले फेरि आक्रमण सुरु गरेको छ।

द्वन्द्व फेरि चर्किएसँगै अमेरिका र तालिबानको सम्झौता ओझेलमा परेको छ। आगामी हप्ता हुने भनिएको अर्को चरणको वार्ता पनि अन्यौलमा परेको छ।

सम्झौतामा अमेरिकाले आफ्ना सबै सेना अफगानिस्तानबाट फिर्ता बोलाउने सहमति गरेको थियो। एएफपी

Leave a Reply

Your email address will not be published. Required fields are marked *