Saturday, July 25

महिला पत्रकारको क्षमता र दक्षता बढाउन सरकारको सहयोग हुन्छ : सञ्चारमन्त्री

नेपालअखबार, काठमाडौँ । प्रेस काउन्सिल नेपालले पत्रकार महिलालाई लक्षित गरी प्रविधिमैत्री पत्रकारिता तालिम सुरु गरेको छ । सोमबार काठमाडौँमा सुरु भएको तालिमको उद्घाटन गर्दै सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले महिला पत्रकारको क्षमता र दक्षता बढाउन प्रविधिलक्षित तालिम फलदायी हुने विश्वास व्यक्त गरिन् ।

Advertisement

३ दिनसम्म चल्ने तालिममा पहिलो चरणमा बाग्मती प्रदेशका २० जना पत्रकार सहभागी छन् । मन्त्री शर्माले व्यवसायिक र मर्यादित पत्रकारिताका लागि यस्ता खाले तालिम आगामी दिनमा अझ सशक्त ढङ्गबाट अगाडि बढाउनुपर्ने उल्लेख गरिन् ।

Advertisement
Advertisement

‘प्रेस काउन्सिलले सुरु गरेको छ । यसलाई बढाउँदै जानुपर्छ । सरकारको समन्वय र सहयोग रहनेछ, मन्त्री शर्माले भनिन्, ‘महिलालाई एक्सपर्ट जर्नालिस्ट बनाउने कार्यमा सबै सरोकारवाला निकाय लाग्नुपर्छ ।’

Advertisement

प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले प्रविधिको माध्यमबाट पोख्त पत्रकारिता गराउने उद्देश्यले तालिम सञ्चालन भएको जानकारी दिए । प्रविधिमैत्री नहुँदा पत्रकारिताबाटै पलायन हुने र अवसरबाट वञ्चित हुने अवस्था हुन नदिने प्रयासमा काउन्सिल रहेको उनको भनाइ थियो ।

कार्यक्रममा बोल्दै नेपाल पत्रकार महासङ्घका अध्यक्ष विपुल पोख्रेलले प्रविधिसँग जोडिएर मात्रै समयानुकूल पत्रकारिताको अभ्यास हुने उल्लेख गरे । न्यूनतम पारिश्रमिक निर्धारण समितिका अध्यक्ष संगीता खड्काले नयाँ पुस्तालाई पत्रकारितामा आकर्षण गर्न र पेसामा रहेकालाई टिकाउन यस्ता तालिम महत्त्वपूर्ण हुने बताए । यस्तै सञ्चारिका समूहका अध्यक्ष बिमला तुम्खेवाले प्रविधिको उच्चतम प्रयोगबाट गरिने पत्रकारिताले पत्रकार महिलालाई गुणात्मक, सचेत र व्यवसायिक रूपमा अगाडि बढाउन सघाउने बताइन् ।