Saturday, July 25

समाजवादी मोर्चाले गण्डकी प्रदेशका ११ जिल्लामा सन्देशसभा गर्दै

नेपालअखबार, पाेखरा। समाजवादी मोर्चाले गण्डकी प्रदेशका ११ वटै जिल्लामा सन्देशसभा गर्ने भएको छ।  मोर्चाको गण्डकी प्रदेश संयोजन समितिको सोमबार पोखरामा बसेको बैठकले मोर्चामा रहेका चार दलका दुई–दुई जनाको प्रतिनिधित्व हुने गरी असोज महिनाभित्रमा जिल्ला संयोजन समिति गठन गरी सन्देशसभा गर्ने निर्णय गरेको हो।

Advertisement

समाजवादी मोर्चामा सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी र नेपाल कम्युनिष्ट पार्टी रहेका छन् । जिल्लास्तरीय सन्देशसभाको व्यवस्थापनका लागि गोरखा, स्याङ्जा, म्याग्दी र मनाङको जिम्मेवारी माओवादी केन्द्रलाई दिइएको छ।

Advertisement
Advertisement

यसैगरी कास्की, मुस्ताङ र पर्वत एकीकृत समावादी, नवलपुर र लमजुङ जनता समाजवादी पार्टी तथा बागलुङ र तनहुँ जिल्लाको सन्देशसभा व्यवस्थापनको जिम्मेवारी नेपाल कम्युनिष्ट पार्टीलाई तोकिएको मोर्चाका प्रदेश संयोजक एवं नेकपा (माओवादी केन्द्र) गण्डकी प्रदेशका अध्यक्ष गायत्री गुरुङले बताइन्।

Advertisement

उनका अनुसार बैठकले मोर्चाका शीर्ष नेताहरूको उपस्थितिमा गत भदौ १५ गते पोखरामा आयोजना गरिएको प्रदेशस्तरीय सन्देशसभाको समीक्षालगायतका विषयमा छलफल गरिएको छ। सङ्घीय लोकतान्त्रिक गणतन्त्रको रक्षा र सुदृढीकरण गर्दै नेपाली समाजवादका मौलिक विशेषताहरूको पहिचान गरी समाजवादको नेपाली बाटो तय गर्ने प्रतिबद्धताका साथ समाजवादी मोर्चा स्थापना भएको उनले बताइन्।

‘सङ्घीयता, लोकतान्त्रिक गणतन्त्र, सुशासन, आर्थिक समृद्धि र सामाजिक न्यायसहितको नेपाली विशेषताको समाजवाद स्थापना गर्ने मूल उद्देश्यले मोर्चा गठन गरिएको हो। मोर्चालाई प्रदेश हुँदै जिल्ला तथा स्थानीय तहसम्म विस्तार गर्छौँ । सरकारले गरिरहेका कामका बारेमा जनतालाई प्रशिक्षित गर्ने र जनताबाट सुझाव लिने काम गरिरहेका छौं,’ संयोजक गुरुङले भनिन्।

बैठकले इजरायलको गाजा क्षेत्रमा भएको द्वन्द्वमा परी नेपाली विद्यार्थीको निधन भएकामा दुःख व्यक्त गरेको छ। साथै विद्रोहीहरूको आक्रमणमा घाइते, बेपत्ता भएका र युद्धग्रस्त क्षेत्रमा अप्ठ्यारो अवस्थामा परेका नेपालीहरूको शीघ्र उद्धार र राहतका लागि सरकारसँग मागसमेत गरेको छ।

मोर्चाको गण्डकी प्रदेश समितिमा माओवादी केन्द्रबाट गण्डकी प्रदेश अध्यक्ष गायत्री गुरुङसहित ज्ञानमान गैरे र जगन्नाथ खनाल सदस्य छन्। एकीकृत समाजवादीबाट केशवलाल श्रेष्ठ, श्रीनाथ बराल र प्रतापलाल श्रेष्ठ, जनता समाजवादी पार्टीबाट गोपाल गुरुङ, निर्मल जिसी र रमेश नेपाली मोर्चामा रहेका छन्।

यसैगरी विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीबाट राजन सी, दीपा सी र काजी सी रहेका छन्। मोर्चा समितिको अध्यक्षता आलोपालो प्रणालीअन्तर्गत हाललाई माओवादी केन्द्रका प्रदेश अध्यक्ष गुरुङले गरेका छन्।