Saturday, July 25

पोखरामा घरपालुवा कुकुरलाई सार्वजनिकस्थलमा शौच गराए एक हजार जरिवाना !

नेपालअखबार, पाेखरा। घरपालुवा कुकुरलाई जथाभावी दिसा–पिसाब गराउने कुकुरधनीलाई पोखरा महानगरले कारबाही गर्ने भएको छ। सार्वजनिकस्थल, सडक तथा खुला स्थानमा कुकुरलाई शौच गराएको पाइएमा फोहरमैला व्यवस्थापन नियमावलीअनुसार कारबाही गरिने महानगरको सरसफाइ शाखाका प्रमुख कल्पना बरालले बताइन्।

Advertisement

‘घरमा पालेका कुकुरलाई बाहिर खुला ठाउँमा लगेर दिसा–पिसाब गराउने गरेको व्यापक जनगुनासो आएपछि महानगरले निगरानी सुरू गरेको छ,’ उनले भनिन्, ‘यस्तो अभियान महानगरको एक्लो प्रयासले मात्र सफल हुँदैन, नागरिकको पनि साथ चाहिन्छ।’

Advertisement
Advertisement

कुनै कुकुरधनीले सार्वजनिकस्थलमा लगेर कुुकुरलाई शौच गराएको देखेमा गोप्य ढङ्गबाट महानगरका प्रतिनिधिलाई खबर गर्न या प्रमाण उपलब्ध गराउन उनले महानगरवासीसँग आग्रह गरिन् । “सार्वजनिक सूचनामार्फत पनि यो विषय जानकारी गराइएको छ, अब कसैले घरमा पालेको कुकुरलाई बाहिर लगेर शौच गराएमा कारबाही भोग्नुपर्छ”, उनले भनिन्, “एकपटकका लागि रु एक हजार र पटक–पटक शौच गराएको पाइएमा रु १५ हजारसम्म जरिवाना गर्ने सकिने व्यवस्था नियमावलीमा छ ।”

Advertisement

महानगरले घरपालुवा कुकुरलाई आफ्नै घरको परिसरभित्र शौचको व्यवस्था मिलाउन र त्यसको उचित व्यवस्थापन गर्न कुकुरधनीलाई सचेत गराएको छ । खुला ठाउँमा कुकुरलाई दिसा–पिसाब गराउँदा वातावरणीय सरसफाइमा प्रतिकूल असर पार्ने शाखा प्रमुख बरालले उल्लेख गरिन् । उनले घरमा पालिरहेको कुुकुरलाई सडकमा लगेर बेवारिसे अवस्थामा छोडेमासमेत कारबाही हुने बताइन् । रासस